काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वास्थ्य परीक्षणका आधारमा कालो चस्मा लगाएर संसद् बैठकमा जाने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्य परीक्षणको रिपोर्टसहित संसद् सचिवालयलाई कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको जानकारी गराएको हो।
प्रधानमन्त्री शाहले गत साउन २२ गते आँखाको स्वास्थ्य परीक्षण गराएका थिए। त्यसपछि साउन २६ गते प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाउँदै चिकित्सकको सुझावअनुसार कालो चस्मा प्रयोग गर्नुपर्ने जानकारी गराएको हो।
डा. सचित ढकालले गरेको आँखा परीक्षणपछि प्रधानमन्त्री शाहलाई कालो चस्मा प्रयोग गर्न सुझाव दिइएको सचिवालयले जनाएको छ। सोही स्वास्थ्य परीक्षणको प्रतिवेदनसमेत संसद् सचिवालयलाई पठाइएको छ।
यसअघि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्मा कालो चस्मा लगाउने विषयलाई लिएर रोक लगाइएको थियो। चिकित्सकीय कारण देखाउँदै प्रधानमन्त्रीको सचिवालयले भने चस्मा प्रयोग गर्न पाउने व्यवस्था मिलाइदिन संसद्लाई जानकारी गराएको हो।
प्रधानमन्त्री शाहले भोलि प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। स्वास्थ्य परीक्षणपछि संसद्मा आफ्नो स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको औपचारिक जानकारी गराइएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्