पोखरा । पोखराका पर्यटन व्यवसायीहरूले संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतसँग भेट गरी पोखरा–दुबई नियमित हवाई उडानलाई सफल, प्रभावकारी र दीगो बनाउने विषयमा छलफल गरेका छन्।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठको नेतृत्वमा पर्यटन व्यवसायीहरूको टोलीले यूएईका राजदूतसँग भेटवार्ता गरेको हो।
छलफलमा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेललगायतको सहभागिता रहेको थियो। नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डेको पनि विशेष उपस्थिति रहेको जनाइएको छ।
भेटवार्तामा पोखराबाट दुबईसम्म हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल बनाउने, यात्रु तथा पर्यटकको संख्या बढाउने र पोखरालाई अन्तर्राष्ट्रिय हवाई गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा केन्द्रित छलफल भएको थियो।
पर्यटन व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानलाई नेपाल र विशेषगरी गण्डकी प्रदेशको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनीहरूले यस उडानले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नुका साथै विदेशी पर्यटक भित्र्याउन, पर्यटन व्यवसाय चलायमान बनाउन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।
छलफलका क्रममा नियमित उडानलाई दीगो बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
पर्यटन व्यवसायीहरूले आ–आफ्नो क्षेत्रबाट उडानको प्रवर्द्धन, पर्यटक आकर्षण र बजार विस्तारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनीहरूका अनुसार, पोखरा–दुबई हवाई सम्पर्कलाई नियमित र दीगो बनाउन सके पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगिता बढ्नुका साथै गण्डकी प्रदेशको पर्यटन, होटल तथा सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्