ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँदर–बदेलको आतङ्कपछि पाल्पाका किसानको रोजाइ टिमुरखेती, वार्षिक तीन लाखसम्म आम्दानी


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : ३५   बजे

पाल्पा । बाँदर र बदेलले मकै, कोदो लगायतका अन्नबाली नष्ट गर्न थालेपछि पाल्पाका किसान वैकल्पिक खेतीका रूपमा टिमुरखेतीतर्फ आकर्षित हुन थालेका छन्। वन्यजन्तुबाट क्षति कम हुने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजारसमेत सहजै पाइने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा टिमुरखेती विस्तार हुँदै गएको छ।

तिनाउ गाउँपालिका–कचलका मीनबहादुर सारुका अनुसार वनसँग जोडिएका क्षेत्रमा अन्नबाली जोगाउन कठिन भएपछि किसानहरूले बारी र बाँझो जमिनसमेत टिमुरले भरिन थालेका छन्।

“यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ। वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ,” सारुले भन्नुभयो।

रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रूपमा टिमुरखेती गर्दै आउनुभएको छ। पहिले मकैखेती गर्दै आएका उनले अहिले बारीमा ५० वटा टिमुरका बिरुवा लगाएका छन्।

उनका अनुसार दिनहुँजसो बाँदर र बदेल आउने क्षेत्रमा अन्नबाली लगाएर उत्पादन भित्र्याउन कठिन भएपछि टिमुरखेती रोज्नुपरेको हो।

“हरेक वर्ष बारीमा मकै लगायो, बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन्। मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा टिमुर लगाएको हुँ,” बगालेले भन्नुभयो।

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर टिमुरखेती सुरु गर्नुभएको छ। अन्नबाली वन्यजन्तुले नष्ट गर्न थालेपछि उनी पनि वैकल्पिक आम्दानीको स्रोत खोज्दै टिमुरतर्फ लागेका हुन्।

हाँसोको विषय बनेको टिमुर अहिले आम्दानीको आधार

रानादेवी छहराका ध्रुवबहादुर राना पहिले बारीका काल्नामा टिमुर लगाउँदा धेरैले हाँसोको विषय बनाएको सम्झनुहुन्छ। तर समयसँगै टिमुर आम्दानीको बलियो माध्यम बनेपछि अहिले धेरै किसानले बारीभरि टिमुर लगाउन थालेका छन्।

“वन्यजन्तुको आतङ्कले अन्नबाली लगाउन सकेनौँ, अहिले हामीले टिमुरखेती गरेका छौँ,” उहाँले भन्नुभयो।

टिमुरखेतीबाट पाल्पाका दुई हजारभन्दा बढी किसान लाभान्वित भएको बताइएको छ। असारको अन्तिम सातादेखि असोज–कात्तिकसम्म टिमुर बिक्री गरेर किसानहरूले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

वन कार्यालयले बढायो बिरुवा वितरण

डिभिजन वन कार्यालय पाल्पाले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विस्तार गर्ने पहल गर्दै आएको छ। टिमुरखेती गर्न इच्छुक किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुरखेतीका लागि उपयुक्त छ। नेपाल सरकारले पनि टिमुरलाई प्रमुख जडीबुटी प्रजातिमध्ये एक मानेको छ।

स्थानीयस्तरमा पर्याप्त बिरुवा उत्पादन हुन नसक्दा पश्चिम नेपालका अन्य जिल्लाबाट समेत बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरिएको छ। कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो भने त्यसपछिका वर्षहरूमा किसानको मागअनुसार करिब २० हजार बिरुवा वितरण गर्दै आएको छ।

पछिल्लो समय भने टिमुरको बढ्दो आकर्षणका कारण किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार जिल्लाको अधिकांश भूभागमा टिमुरखेतीको सम्भावना रहेको छ। अग्लो तथा ओसिलो स्थानमा समेत यसको खेती गर्न सकिने भएकाले विभिन्न क्षेत्रमा विस्तार गर्न सकिने उहाँको भनाइ छ।

“अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ, तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,” श्रेष्ठले भन्नुभयो।

उनका अनुसार एकपटक टिमुरको बिरुवा हुर्किएपछि वर्षौंसम्म उत्पादन लिन सकिन्छ। यही कारण वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुरखेती किसानका लागि भरपर्दो वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ।

एकातिर बाँदर र बदेलको बढ्दो आतङ्कले परम्परागत अन्नबाली जोगाउन किसानलाई चुनौती थपेको छ भने अर्कोतिर त्यही समस्याले नयाँ खेती प्रणालीको बाटो पनि खोलेको छ। अन्नबाली जोगाउन नसकेपछि पाल्पाका किसानले टिमुरमार्फत चुनौतीलाई आम्दानीको अवसरमा बदल्न थालेका छन्।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

माटो जोगाउनेदेखि डिजिटल बजारसम्म: कृषिमा नयाँ ‘रोडम्याप’ अघि बढाउँदै सरकार

पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता

भारतीय सेनाबाट अवकाशपछि ड्रागन फ्रुटमा सफलता, वार्षिक ६० लाखसम्म आम्दानी

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

कुखुरापालक किसानका १२ बुँदे माग, बिचौलियाको एकाधिकार अन्त्यदेखि न्यूनतम समर्थन मूल्यसम्म

बनेपाको भिरालो फाँटमा लहलहाउँदो धानबाली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu