काठमाडौं । कुखुरापालक किसानहरूले आफ्नो पेशामा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै १२ बुँदे माग अघि सारेका छन्।
किसानहरूले कृषि, वन तथा वातावरण मन्त्रीसमक्ष मागपत्र बुझाउँदै उत्पादन लागतका आधारमा कुखुराको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, बजारमा बिचौलियाको एकाधिकार अन्त्य गर्नुपर्ने र किसानलाई मूल्य निर्धारणमा अधिकार दिनुपर्नेलगायतका माग गरेका हुन्।
माग पूरा गर्न दबाब दिँदै उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका छन्।
किसानहरूले आफ्नो लागत, जोखिम र लगानीलाई आधार बनाएर सरकारले कुखुराको न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने बताएका छन्। साथै, कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने उनीहरूको माग छ।
बिचौलियाको मनोमानी रोक्न माग
किसानहरूले बजारमा बिचौलिया तथा पोल्ट्री स्टोरबाट आफूहरू ठगिने गरेको गुनासो गरेका छन्। काँटा (तराजु) मा हुने अनियमितता, बिचौलियाका नाममा गरिने विभिन्न कटौती तथा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म मूल्य घटाएर किसानलाई घाटा पार्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले माग गरेका छन्।
उनीहरूले किसानबाट खरिद गरिने कुखुराको मूल्यमा पारदर्शिता कायम गर्नुपर्ने र बजारमा हुने मनोमानी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन्।
चल्ला र दानाको गुणस्तर सुनिश्चित गर्न माग
ह्याचरीहरूले तोकेको मूल्यभन्दा बढीमा चल्ला बिक्री गर्ने कार्य रोक्न किसानहरूले माग गरेका छन्। चल्लाको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन तथा नियमनको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।
त्यस्तै, दाना कम्पनीहरूले गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने र दानाको गुणस्तरमा समस्या देखिए किसानको गुनासो तत्काल सम्बोधन गर्ने प्रभावकारी निकाय स्थापना गर्नुपर्ने माग गरिएको छ।
अवैध तस्करी नियन्त्रण र भण्डारण केन्द्र
भारतबाट संगठित रूपमा भइरहेको कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गरी नेपाली उत्पादनलाई संरक्षण गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्।
उत्पादन बढी भएका बेला बजार मूल्य घट्दा किसानले सस्तोमा कुखुरा बिक्री गर्नुपर्ने बाध्यता अन्त्य गर्न सातै प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गर्नुपर्ने उनीहरूको माग छ।
प्रयोगशाला र प्राविधिक सेवा विस्तार गर्न माग
किसानहरूले दैनिक बजार मूल्य सहज रूपमा थाहा पाउने गरी पारदर्शी मूल्य सूचना प्रणाली स्थापना गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, कुखुरामा लाग्ने रोगको पहिचान तथा नियन्त्रणका लागि प्रत्येक क्षेत्रमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने बताएका छन्।
किसानलाई आधुनिक प्रविधि, प्राविधिक सेवा तथा विज्ञ परामर्श उपलब्ध गराउनुपर्ने र उत्पादन तथा व्यवसायसम्बन्धी समस्या समाधानमा सरकारी निकायको पहुँच सहज बनाउनुपर्ने उनीहरूको माग छ।
किसानका समस्या, गुनासा तथा सुझाव नियमित रूपमा सुन्न र सम्बोधन गर्न छुट्टै प्रभावकारी आयोग वा संयन्त्र गठन गर्नुपर्ने मागसमेत कुखुरापालक किसानहरूले अघि सारेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्