काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारलाई केवल प्रशासन सञ्चालन गर्ने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने परिणाममुखी सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार साँझ बागमती प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री थापाले प्रदेशबासी अब आश्वासनभन्दा परिणाम खोजिरहेको बताए।
उनले विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने, प्रदेश सभाबाट पारित बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए।
मुख्यमन्त्री थापाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई सरकारको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्। गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न प्रभावकारी पहल गर्ने तथा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा जोड दिने उनको भनाइ छ।
कृषि क्षेत्रमा किसानलाई अनुदानमा मात्र निर्भर नराखी उत्पादनदेखि बजारीकरणसम्म जोड्ने नीति लिइने उनले बताए। त्यस्तै, बढ्दो युवा विदेश पलायन रोक्न प्रदेशभित्रै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम र खेलकुदका माध्यमबाट रोजगारी सिर्जना गरिने उनको प्रतिबद्धता छ।
‘आवश्यकताका आधारमा योजना छनोट हुन्छ’
मुख्यमन्त्री थापाले आवश्यकताका आधारमा योजना छनोट गर्ने, समयमै ठेक्का प्रक्रिया अघि बढाउने र गुणस्तरीय काम सुनिश्चित गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रणाली विकास गरिने बताए।
उनले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो, प्रभावकारी र जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे। संघीय राजधानीसहित उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा रहेको बागमती प्रदेशमा विकासका प्रशस्त सम्भावना भए पनि दुर्गम भूगोल, विपन्न समुदाय र आधारभूत सेवाबाट टाढा रहेका नागरिकसम्म समान रूपमा विकास पुर्याउनु चुनौतीपूर्ण रहेको उनले बताए।
यसैबीच मुख्यमन्त्री थापाले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने नेकपा (एमाले) तथा सत्ता सहयात्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति आभार व्यक्त गरेका छन्।
१०४ सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र प्रतिपक्षी दलहरूको बहिष्कारबीच मुख्यमन्त्री थापाले विश्वासको मत मागेका हुन्। प्रदेश सभामा मत विभाजनको प्रक्रिया जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्