बुटवल । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारूले शपथ लिएका हुन्।
शपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको उपस्थिति थियो।
प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
मन्त्रीहरूको जिम्मेवारी हेरफेर
मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सारिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सत्ता साझेदारीमा नयाँ समीकरण
पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिस्ट पार्टीबाट तीन तथा जनता समाजवादी पार्टी नेपालबाट दुई मन्त्री रहने सहमति भएको छ।
केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनीमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारीको नयाँ समीकरण बनेको हो।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेपाली कम्युनिस्ट पार्टीका १३, जनता समाजवादी पार्टी नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र १ स्वतन्त्र गरी ८३ सदस्य छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्