काठमाडौं । पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले सक्रियता बढाएका छन्। आगामी असोज ७ गतेदेखि सुरु हुने फ्लाई दुबईको उडानलाई निरन्तरता दिन व्यवसायीले नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी छलफल गरेका हुन्।
राजदूत अल शाम्सीसँगको भेटमा फ्लाई दुबईले सञ्चालन गर्न लागेको पोखरा–दुबई उडानको निरन्तरता, प्रभावकारिता र दिगोपनाका विषयमा छलफल भएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
‘पोखरा–दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्ने हाम्रो मुख्य चासो थियो। यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढाउने विषयमा छलफल भयो,’ उनले भने।
भेटमा नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलगायत पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। यसअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि उडानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
उडान स्थायित्वका लागि सहकार्यमा जोड
छलफलका क्रममा पोखरा–दुबई उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, सरकारी निकाय र अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
उडान सञ्चालनमा आए गण्डकी प्रदेश तथा आसपासका क्षेत्रबाट दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोलगायत २५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो। फ्लाई दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ।
पोखरा विमानस्थलका लागि महत्वपूर्ण उडान
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको थियो। त्यसैको निरन्तरतामा फ्लाई दुबईले पोखरा उडानका लागि अनुमति पाएको हो।
दुबई विश्वको प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखराबाट सिधा दुबई उडान सुरु हुँदा पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप जोडिने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु अभावका कारण हाल उक्त सेवा स्थगित छ।
यसकारण पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दोस्रो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्नेछ। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान मात्र हुँदै आएका थिए।
पर्यटन र अर्थतन्त्रमा लाभको अपेक्षा
पोखरा–दुबई उडानले पर्यटकीय राजधानी पोखरासहित गण्डकीका विभिन्न पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि यूएई र अन्य मुलुक जाने यात्रुलाई पनि पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्ने अवसर मिल्नेछ।
दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा जोडिने भएकाले यसले पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै पर्यटन, व्यापार तथा रोजगारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। काठमाडौं केन्द्रित हवाई चाप कम गर्न र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको पर्यटन व्यवसायीहरूले बताउँदै आएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्