काठमाडौं । डि टु इभेन्ट्सको आयोजनामा आगामी शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा २४ पुरुष टोलीको सहभागिता रहने जानकारी दिएको हो। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ। प्रत्येक समूहका विजेता टोली सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको सहयोगमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनका अवसरमा प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरिएको थियो। एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेसनल स्कुलका प्रधानाध्यापक टकबहादुर थापा तथा पावर्ड बाइ लेकाली जाभाका अध्यक्ष केनिश श्रेष्ठले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।
रोयल स्पोर्ट्स पार्कमा खेल हुने
तीनदिने प्रतियोगिताका सबै खेल चुनीखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछन्।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्