काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको वर्तमान संरचना परिष्कृत गर्नुपर्ने बताएका छन्।
शिक्षा मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उपकुलपति थापाले पाँच लाखभन्दा बढी विद्यार्थीको भार रहेको त्रिविलाई वर्तमान संरचनाबाट प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भइरहेको बताए।
विश्वविद्यालयलाई प्रभावकारी बनाउन प्रादेशिक संरचनामा लैजानुपर्ने उनको सुझाव छ। त्यसका लागि विश्वविद्यालयको विद्यमान ऐनलाई समयसापेक्ष रूपमा संशोधन तथा प्रतिस्थापन गर्नुपर्ने उनले बताए।
‘विश्वविद्यालयको ऐन समयसापेक्ष परिमार्जन र प्रतिस्थापन नहुँदा संस्था सञ्चालनमा जटिल बनेको छ,’ उपकुलपति थापाले भने।
नयाँ ऐन आवश्यक
उपकुलपति थापाले रोकिएका सिनेट बैठक तथा अन्य नीतिगत निर्णयलाई अघि बढाउन नयाँ विधेयक तथा ऐन संशोधन आवश्यक रहेको बताए।
विश्वविद्यालय सञ्चालनमा देखिएका कानुनी तथा संरचनागत समस्या समाधान गर्न तत्काल नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
राजनीतिक तहबाट समाधान खोज्नुपर्ने
त्रिविमा स्ववियु, प्राध्यापक संघ तथा विद्यार्थीका विभिन्न माग र आन्दोलनबाट उठेका विषयलाई राजनीतिक तहबाटै स्थायी रूपमा समाधान खोज्नुपर्ने उपकुलपति थापाले बताए।
पाँच लाखभन्दा बढी विद्यार्थी रहेको विश्वविद्यालयको वर्तमान संरचनाले यति ठूलो जनशक्ति तथा शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न कठिन भइरहेको उल्लेख गर्दै उनले संरचनागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्