काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बस्ने प्रतिनिधिसभा बैठकमा ११ जना सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराएका छन्। प्रतिनिधिसभामा अधिकतम १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।
रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा प्रश्न मात्रै दर्ता भएका छन्। अन्य दलका सांसदले भने तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।
यी सांसदले प्रश्न सोध्दै
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारी गरेका छन्।
सभामुखले गराएका थिए रुलिङ
गत भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।
सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्ने क्रममा ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसयता उनले संसद्मा सम्बोधन गरेका छैनन्।
उक्त अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाउँदै आएका थिए। त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। सो व्यवस्था कार्यान्वयनमा ढिलाइ भएपछि प्रधानमन्त्री शाहले आज सांसदका प्रश्नको जवाफ दिन लागेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्