काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृतकमध्ये ११ जना पुरुष र ९ जना महिला छन्। थप दुई जनाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष तथा धादिङमा पाँच महिला, दुई पुरुष र पहिचान नखुलेका दुई गरी नौ जनाको शव फेला परेको छ। यस्तै, चितवनमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ६५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना छन्।
घाइतेहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्