काठमाडौँ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीबाट १ सय ४१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल ‘ए’ विरुद्ध अस्ट्रेलियन क्यापिटल टेरिटोरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । यो खेल टप एन्ड टी–२० सिरिजको १८औँ खेल हो ।
टेरिटोरीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । अंश तिवारी र कप्तान निक ब्रोएसले समान १९ रन जोड्दा जेक स्मिथले १४ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए । युवराज खत्रीले २ विकेट लिए भने पवन सर्राफ, विपिन खत्री र सहाब आलमले समान १ विकेट लिए ।
अब नेपाल ‘ए’ ले १ सय ४१ रनको लक्ष्य पछ्याउनेछ ।
दोस्रो जितको खोजीमा नेपाल ‘ए’
नेपाल ‘ए’ ले प्रतियोगितामा यसअघि तीन खेल खेलिसकेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पनि पराजित भएको थियो ।
तेस्रो खेलमा भने नेपाल ‘ए’ ले होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
नेपाल ‘ए’ आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । उता, अस्ट्रेलियन क्यापिटल टेरिटोरीले प्रतियोगितामा यसअघिका खेलमा लगातार पराजय बेहोरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्