काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी मनसुनी वर्षा वा बादल फाटेर आएको नभएको प्रारम्भिक तथ्यहरूले देखाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी आउनुअघि पछिल्लो २४ घण्टामा रसुवा क्षेत्रमा ७ मिलिमिटर वा सोभन्दा कम वर्षा रेकर्ड भएको थियो। यसले बाढीको मुख्य कारण स्थानीय भारी वर्षा नभएको संकेत गरेको छ।
वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार उपलब्ध वर्षाको तथ्यांकले यस घटनालाई सामान्य मनसुनी बाढीका रूपमा व्याख्या गर्न नसकिने देखाउँछ।
प्रारम्भिक वैज्ञानिक विश्लेषणले भने हिमाली क्षेत्रमा भएको जटिल प्राकृतिक घटनाको शृङ्खला—भूकम्प, हिमपहिरो, नदी थुनिनु र त्यसपछि पानीको आकस्मिक बहाव—बाढीको सम्भावित कारण हुनसक्ने संकेत गरेको छ।
हिमपहिरोले नदी थुनेको हुनसक्ने अनुमान
प्रारम्भिक अध्ययनअनुसार हिउँ र चट्टानसहितको ठूलो हिमपहिरो खसेर लेन्दे नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ। नदी थुनिएपछि माथिल्लो क्षेत्रमा पानी जम्मा भएर अस्थायी प्राकृतिक ताल बनेको र पछि उक्त अवरोध फुट्दा वा पानी बाँधमाथिबाट बग्दा तल्लो क्षेत्रमा एक्कासि ठूलो बाढी आएको हुनसक्ने वैज्ञानिकहरूको आकलन छ।
काठमाडौं विश्वविद्यालयका हिमनदीविद् रिजनभक्त कायस्थका अनुसार नेपाल र चीनका वैज्ञानिकबीच भएको प्रारम्भिक छलफलले पनि लेन्दे नदी हिमपहिरोका कारण थुनिएको हुनसक्ने सम्भावनातर्फ संकेत गरेको छ।
यदि यस्तो भएको पुष्टि भएमा यो सामान्य हिमताल विस्फोटजन्य बाढीभन्दा फरक प्रकृतिको घटना हुन सक्छ। हिमपहिरो वा ठूलो पहिरोले नदीको बहाव रोक्दा प्राकृतिक बाँध बन्छ र माथिल्लो क्षेत्रमा पानी तीव्र रूपमा जम्मा हुन थाल्छ। पछि उक्त बाँध भत्किएमा वा पानीले अवरोध पार गरेमा ठूलो मात्रामा पानी, ढुंगा, माटो र अन्य मलबेसहितको विनाशकारी बहाव तलतर्फ आउन सक्छ।
८ः३७ को भूकम्प र त्यसपछिको बाढी
बाढी आउनुअघि बुधबार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बती क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प रेकर्ड भएको थियो। त्यसपछि आएको बाढीका कारण भूकम्पले हिमपहिरो वा पहिरो निम्त्याएको हुनसक्ने सम्भावनाबारे अध्ययन सुरु भएको छ।
विपद् व्यवस्थापन अधिकारीहरूले भूकम्पको कम्पनका कारण कमजोर हिमाली भिरालो क्षेत्रमा हिउँ, चट्टान वा माटो खसेर नदी थुनिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्।
तर वैज्ञानिकहरूले भने ४.४ म्याग्निच्युडको भूकम्पले नै हिमपहिरो निम्त्याएको निष्कर्षमा पुग्न अझै पर्याप्त प्रमाण नभएको बताएका छन्।
सन् २०१५ को ७.८ म्याग्निच्युडको गोरखा भूकम्पपछि लाङटाङ क्षेत्रमा ठूलो हिमपहिरो गएको उदाहरण भए पनि यसपटकको भूकम्प तुलनात्मक रूपमा निकै कमजोर रहेको छ। त्यसैले भूकम्प, हिमपहिरो र त्यसपछिको बाढीबीच प्रत्यक्ष सम्बन्ध थियो वा संयोग मात्र थियो भन्ने विषय थप अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
हिमताल फुटेको थियो त ?
बाढी आएलगत्तै तिब्बततर्फको हिमताल फुटेर ठूलो पानी आएको हुनसक्ने आशंका गरिएको थियो। तर हालसम्म कुनै स्थापित हिमताल पूर्ण रूपमा फुटेको वा सुकेको स्पष्ट प्रमाण फेला परिसकेको छैन।
भूगर्भविद् रञ्जनकुमार दाहालका अनुसार बाढीको असाधारण परिमाण हेर्दा हिमनदी तथा हिमाली भू–प्रक्रियाको भूमिकालाई नकार्न सकिँदैन। तर पर्याप्त प्रमाणबिना अहिले नै यसलाई ‘हिमताल विस्फोटजन्य बाढी’ भनेर निष्कर्ष निकाल्नु हतार हुने उनको भनाइ छ।
वैज्ञानिकहरूले अहिले अर्को सम्भावनामा पनि ध्यान केन्द्रित गरेका छन्—हिमपहिरोले नदी थुनेर अस्थायी ताल बनेको र केही समयपछि त्यो अवरोध भत्किँदा विनाशकारी बाढी आएको हुनसक्छ।
२०२५ को बाढीसँग तुलना
यसअघि ८ जुलाई २०२५ मा पनि सीमित वर्षाका बीच नेपाल–चीन सीमाभन्दा करिब ३५–३६ किलोमिटर माथि तिब्बतको पुरेपु हिमनदी क्षेत्रमा बनेको ‘सुप्राग्लेसियल’ तालबाट पानी आकस्मिक रूपमा बाहिरिएपछि लेन्दे–भोटेकोसी नदी प्रणालीमा ठूलो बाढी आएको अध्ययनहरूले देखाएका थिए।
त्यस घटनाले तिब्बततर्फको हिमनदी, हिमताल र भूगर्भीय परिवर्तनले नेपालतर्फको नदी प्रणालीमा प्रत्यक्ष तथा तीव्र प्रभाव पार्न सक्ने जोखिम उजागर गरेको थियो।
यसपटक पनि स्थानीय क्षेत्रमा ठूलो वर्षा नभएको अवस्थामा अचानक विशाल मात्रामा पानी र मलबेसहितको बहाव आउनुले माथिल्लो हिमाली जलाधारमा भएको कुनै असाधारण प्राकृतिक घटनातर्फ अनुसन्धान केन्द्रित भएको छ।
अब स्याटेलाइट र स्थलगत अध्ययन निर्णायक
बाढीको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले स्याटेलाइट तस्बिर, भू–आकृतिक परिवर्तन, नदीको बहाव र सम्भावित हिमपहिरो क्षेत्रको विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन्।
विशेषगरी बाढीअघि र पछिका उच्च रिजोलुसन स्याटेलाइट तस्बिर तुलना गरेर नदी थुनिएको स्थान, हिमपहिरो गएको क्षेत्र, सम्भावित अस्थायी ताल तथा पानीको निकास मार्ग पहिचान गर्ने प्रयास भइरहेको छ।
वैज्ञानिकहरूले भूकम्प, हिमपहिरो, नदी थुनिएर पानी जम्मा भएको अवधि र अन्ततः आएको बाढीबीचको सम्बन्ध अध्ययन गरिरहेका छन्।
स्थानीय वर्षा बिना आएको यो विनाशकारी बाढीले एउटा गम्भीर प्रश्न उठाएको छ—के हिमालयमा भइरहेका परिवर्तन अब नेपालको सीमाभित्रको मौसम र वर्षाबाट मात्र बुझ्न सकिँदैन?
भोटेकोसीको माथिल्लो जलाधार तिब्बतमा पर्ने भएकाले सीमापार वास्तविक समयको सूचना आदानप्रदान, उपग्रह निगरानी, स्वचालित जलमापन प्रणाली र प्रभावकारी पूर्वसूचना संयन्त्र अब झन् आवश्यक देखिएको छ। बाढीको वास्तविक स्रोत र कारण पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक तथ्यले भने रसुवाको यो विपत्ति ‘भूकम्प–हिमपहिरो–नदी थुनिने–अचानक बाँध फुट्ने’ प्राकृतिक शृङ्खलाको परिणाम हुनसक्ने बलियो सम्भावना देखाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्