चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको संख्या बढ्दै जाँदा भरतपुर अस्पतालको शवगृह भरिएको छ। शव राख्ने पर्याप्त स्थान नभएपछि थप फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालय परिसरमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूली र नारायणी नदी किनारबाट हालसम्म ६४ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार तनहुँ जिल्लामा फेला परेका नौवटा शवसमेत व्यवस्थापनका लागि चितवन ल्याइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा पर्याप्त स्थान नभएपछि ती शव पुनः तनहुँ नै पठाइएको छ।
तीनवटै सुरक्षा निकायद्वारा खोजी जारी
बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना नदी किनार तथा आसपासका क्षेत्रमा निरन्तर परिचालित छन्। त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म खोजी अभियान विस्तार गरिएको प्रहरीले जनाएको छ।
थप शवका लागि वैकल्पिक व्यवस्था
भरतपुर अस्पतालको शवगृह पूर्ण रूपमा भरिएपछि थप शवको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यसलाई ध्यानमा राख्दै अब फेला पर्ने शवलाई अस्थायी रूपमा औद्योगिक प्रतिष्ठानको कार्यालय परिसरमा राख्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार शवको पहिचान, आवश्यक कानुनी प्रक्रिया तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्