कञ्चनपुर । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कञ्चनपुरका २६ जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै परिवारजनबाट सूचना प्राप्त भएको जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ बाढी प्रभावित क्षेत्रमा रहेका तथा हालसम्म सम्पर्कमा नआएका व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक विवरण संकलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी तथा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरका आफन्तले उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीसमक्ष खोजीका लागि आग्रह गरेका छन्।
सम्पर्कविहीन भएका व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रहरी प्रधान कार्यालयमा पठाउने काम भइरहेको उनले जानकारी दिए।
प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमध्ये भीमदत्त नगरपालिकाका आठ जना, शुक्लाफाँटा नगरपालिकाका सात जना, बेलौरी नगरपालिकाका पाँच जना, कृष्णपुर नगरपालिकाका तीन जना, बेदकोट नगरपालिकाका दुई जना र लालझाडी गाउँपालिकाका एक जना रहेका छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा रहेका डडेल्धुराका एक जना र बैतडीका दुई जना समेत सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
खोजी तथा उद्धार कार्य तीव्र
प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिको अवस्थाबारे जानकारी लिन तथा खोजी कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
डीएसपी रावतका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका प्रहरी युनिटलाई आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरिएको छ। भोटेकोसी तथा आसपासका प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य तीव्र पारिने प्रहरीले जनाएको छ।
बाढीपछि सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भएका कारण कतिपय व्यक्तिको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ। प्रहरीले सम्पर्कविहीन व्यक्तिका परिवारजनलाई उपलब्ध विवरणसहित सम्बन्धित प्रहरी निकायसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्