काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको बिहीबार स्थलगत निरीक्षण गर्नुभएको छ।
प्रधानमन्त्री बालेन बिहान करिब ९ः३० बजे काठमाडौंबाट सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको अवलोकन गरेपछि उहाँ काठमाडौं फर्किनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोली नुवाकोट पुगेको थियो। बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदी हुँदै आएको बाढीले नदीतटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको सचिवालयले जनाएको छ।
क्षति निरीक्षण तथा छलफल
प्रधानमन्त्रीको टोलीले भ्रमणका क्रममा बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलका क्रममा प्रधानमन्त्री बालेनले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्