काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विदेशी नागरिकको खोज तथा उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (ईआरटी) गठन गरेको छ।
बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि मन्त्रालयले ईआरटी गठन गरेको हो।
मन्त्रालयले बिहीबार जारी गरेको सूचनाअनुसार ईआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ।
ईआरटीले विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना संकलन गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गर्ने र बेपत्ता व्यक्तिका परिवार तथा कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ।
विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, बेपत्ता व्यक्तिका परिवार तथा सर्वसाधारणलाई रसुवा बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै जानकारी भए ईआरटीको हटलाइन वा इमेलमार्फत उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार आपत्कालीन हटलाइन तथा ह्वाट्सएपमार्फत +९७७–९७४४४४१२२७ र +९७७–९७४४४४१२२८ मा सम्पर्क गर्न सकिनेछ।
परराष्ट्र मन्त्रालयले विपद्सम्बन्धी अपुष्ट सूचना तथा विवरण प्रसारण नगर्न र घटनाबारे जानकारी लिन आधिकारिक माध्यममा निर्भर रहन सबैलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्