काठमाडौँ । भोटेकोसीमा आएको भीषण बाढी र अविरल वर्षापछि खसेको पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड आज पनि अवरुद्ध छन्।
प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिमको भेरी करिडोर, पासाङल्हामु राजमार्ग तथा रोल्पाको सहिद मार्गलगायत सडक अवरुद्ध रहेका छन्।
पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। यस्तै, सोही खण्डको जरिखेतमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो।
धादिङमा लेदो हटाउने काम जारी
रसुवामा आएको बाढीका कारण अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्याङखोलामा लेदो हटाउने काम भइरहेको छ।
यस्तै, बेनिघाट रोराङ गाउँपालिका–२ बिहानी पम्पतर्फ पनि लेदो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेनिघाट रोराङ–५ स्थित गलौदीमा भने एक्साभेटरलगायतका उपकरण लैजान नसक्दा सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
धादिङकै गजुरी गाउँपालिका–६ जहरेखेत र बाङ्गेमोड सडकखण्डसमेत अवरुद्ध छ। गल्छी गाउँपालिका–६ बैरेनीमा थुप्रिएको लेदो हटाउने काम पनि जारी रहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्