काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य अझै जारी रहेको छ।
आयोजनाको सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जनाको समूह फसेको बताइएको छ। सुरुङको प्रवेशद्वार बाढीले पुरिएपछि उनीहरू भित्रै थुनिएका हुन्।
सुरुङभित्र अक्सिजनको मात्रा कम हुँदै गएको बताइएपछि फसेका कर्मचारीको अवस्था र सुरक्षाप्रति आफन्तहरू चिन्तित भएका छन्। उनीहरूको सकुशल उद्धारका लागि नेपाली सेना तथा स्थानीय प्रशासनले प्रयास जारी राखेका छन्।
आयोजनास्थलसम्म पुग्ने बाटोसमेत बाढीका कारण प्रभावित भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले विशेष सावधानी अपनाइरहेको छ।
यसैबीच, नेपाली सेनाको टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको भने सफलतापूर्वक उद्धार गरेको जनाइएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्