महाराजगन्ज, भारत । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशको महाराजगन्जमा गण्डक (नारायणी) नदीबाट चारवटा शव बरामद भएका छन्। यस्तै, कुशीनगरमा तीनवटा शव फेला परेका छन्।
भारतीय अधिकारीहरूका अनुसार फेला परेका सात शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको बाढीले शवहरू बगाएर भारततर्फ पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
सशस्त्र सीमा बल (एसएसबी)को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा तैरिरहेको अवस्थामा ती शवहरू फेला पारेको हो। टोलीले मोटरबोटको सहायताले शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। हालसम्म कुनै पनि शवको पहिचान हुन सकेको छैन।
निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताले बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद भएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये तीन महिला र एक पुरुष छन्।
‘माथिल्लो नेपालबाट शवहरू आएको हुन सक्ने सम्भावना धेरै छ,’ उहाँले बताउनुभयो। शवको पहिचानका लागि नेपाल प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको पनि गुप्ताले जानकारी दिनुभयो।
यस्तै, कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माले त्यहाँ तीन शव फेला परेको बताउनुभयो। तीमध्ये दुई महिला र एक पुरुष छन्।
‘ती सबै शव फ्रिजरमा सुरक्षित राखिएको छ,’ वर्माले भन्नुभयो, ‘पहिचान प्रक्रिया जारी रहेको छ।’
नेपालसँग समन्वय गरी पहिचानको प्रयास
भारतमा बरामद भएका शवहरूको तत्काल पहिचान हुन नसकेपछि भारतीय अधिकारीहरूले नेपाल प्रशासनसँग समन्वय गरेर पहिचानको प्रयास अघि बढाएका छन्।
दुवै देशका सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले शवको विवरण संकलन, पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न समन्वय गरिरहेका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्