जनकपुरधाम । भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीपछि सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना परिवारको सम्पर्कमा आएका छन्। अझै ११६ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार यसअघि सम्पर्कविहीन भनेर विवरण संकलन गरिएका १० जना अहिले परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।
यसअघि प्रहरीले मधेश प्रदेशबाट १२० जना पुरुष, पाँच जना महिला र एक जना बालक गरी १२६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो। १० जना सम्पर्कमा आएसँगै अहिले सम्पर्कविहीनको संख्या ११६ मा झरेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै सप्तरीका ३१ जना सम्पर्कविहीन थिए। यस्तै, पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाही र महोत्तरीका १०/१०, सिरहाका आठ तथा धनुषाका पाँच जना बाढीपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख थियो।
घरपरिवार तथा आफन्तले प्रहरीमा दिएको निवेदन र फोनमार्फत उपलब्ध गराएको सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरिएको एसएसपी ढकालले बताए।
प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये ९१ जनाको बेपत्ता भएको स्थानमा ‘रसुवा’ मात्र उल्लेख गरिएको छ। अन्य व्यक्तिहरू रसुवाका विभिन्न जलविद्युत् आयोजना, नुवाकोटको बेत्रावती, त्रिशूली बजार तथा अन्य काम र व्यवसायसँग सम्बन्धित रहेको पाइएको छ।
केही सम्पर्कविहीन व्यक्ति अपर त्रिशूली, त्रिशूली हाइड्रोपावर, मौलुङ हाइड्रोपावर लगायतका जलविद्युत् आयोजनासँग सम्बन्धित रहेको प्रहरीको विवरणमा उल्लेख छ।
बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको विवरण थप अद्यावधिक हुन सक्ने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्