काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढी र पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाका संरचना प्रभावित हुनुका साथै त्यहाँ कार्यरत सयौँ कामदार र कर्मचारीसमेत संकटमा परेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये २५४ जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि ठूलो संख्या अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनका अनुसार निजी क्षेत्रका आयोजनामात्र नभई सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना बाढीबाट प्रभावित भएका छन्।
“सोचेभन्दा बढी क्षति भएको छ। अहिले सबैको ध्यान उद्धार र राहतमा केन्द्रित छ,” उनले भने, “हाइड्रोपावरका आयोजनामा तत्काल उद्धार र राहत आवश्यक पर्ने अधिकांश ठाउँमा काम भइरहेको छ, तर केही ठाउँमा अझै गम्भीर अवस्था छ।”
उनका अनुसार लाङटाङ हाइड्रो, अपर त्रिशूली, त्रिशूली–३ ‘बी’ र चिलिमे लगायतका आयोजनामा तत्काल उद्धार आवश्यक छ। ती आयोजनाका केही कर्मचारी तथा कामदार सुरुङभित्र फसेको हुनसक्ने आशंका गरिएको छ।
सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धारमा कठिनाइ
बाढीपछि आयोजनास्थलतर्फ जाने सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा उद्धार कार्य थप जटिल बनेको छ। मोबाइल तथा टेलिफोन सम्पर्क नहुँदा आयोजनाभित्र रहेका कर्मचारी तथा कामदारको वास्तविक अवस्था पत्ता लगाउनसमेत कठिन भएको इप्पानले जनाएको छ।
उद्धारका लागि निजी हेलिकप्टर प्रयोग गर्ने प्रयास भए पनि आयोजनास्थलमा अवतरण गर्ने उपयुक्त स्थानको अभाव, भौगोलिक कठिनाइ तथा अन्य प्राविधिक र सुरक्षा चुनौती देखिएका छन्।
भ्लोनका अनुसार बाहिर उद्धार भएर आएका व्यक्तिसँग मात्र नियमित सम्पर्क भइरहेको छ।
“माथि जान सडक छैन, मोबाइल पनि चल्दैन। निजी हेलिकप्टर लगेर पनि ल्यान्ड गर्ने ठाउँ छैन। राज्यले नै तत्काल समन्वय गरेर उद्धार गर्नुपर्ने अवस्था देखिएको छ,” उनले भने।
अपर त्रिशूली–१ मा मात्रै ५७६ जना सम्पर्कविहीन
इप्पानका अनुसार बाढीबाट प्रभावित आयोजनामध्ये अपर त्रिशूली–१ मा मात्रै ५७६ जना कामदारको अवस्था अज्ञात छ।
उक्त आयोजनामा करिब १ हजार ३५० जना कामदार कार्यरत रहेकोमा केहीलाई उद्धार गरिए पनि ठूलो संख्याका कामदारसँग अझै सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ।
विशेषगरी सुरुङ तथा आयोजना परिसरभित्र रहेका मानिसको उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था रहेको इप्पानको भनाइ छ।
“५ सय ७६ जना सम्पर्कविहीन छन्, उनीहरू कहाँ छन् भन्ने स्पष्ट जानकारी छैन। सुरुङतिर फसेका केही मानिसलाई उद्धार गर्न सकियो भने उनीहरू बाँच्न सक्ने अवस्था हुन सक्छ,” भ्लोनले भने, “त्यसैले हेलिकप्टरका लागि निरन्तर प्रयास भइरहेको छ।”
उद्धारमा राज्यकै भर
जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि निजी क्षेत्रले आफ्नै स्तरबाट पहल गरिरहेको भए पनि भौगोलिक कठिनाइ र पहुँचविहीनताका कारण तत्काल प्रभावकारी उद्धार गर्न कठिन भएको इप्पानले जनाएको छ।
आयोजनामा फसेकाहरूको अवस्थाबारे सरकार, नेपाली सेना र नेपाल प्रहरीलाई निरन्तर जानकारी गराइरहेको इप्पानले जनाएको छ। उद्धार तथा राहतका लागि संस्थागत रूपमा सहयोग जुटाउने तयारीसमेत भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित आयोजनाका प्रतिनिधिसँग छलफल गरी मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ। बाढीपछिको पुनर्निर्माणका लागि गठन गरिएको समितिमा इप्पानका तर्फबाट एक जना सिभिल इन्जिनियरसमेत पठाइएको छ।
भ्लोनले अहिले प्राथमिकता मानिसको उद्धारमा हुनुपर्ने बताएका छन्।
“हाम्रा तर्फबाट उद्धार र राहतका लागि सक्दो सहयोग गर्छौं। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसको उद्धार हो, क्षतिको पुनर्निर्माण त पछि पनि गर्न सकिन्छ।”
निर्माण सम्पन्न आयोजना पनि प्रभावित
बाढीले निर्माणाधीन आयोजनामात्र होइन, निर्माण सम्पन्न भइसकेका जलविद्युत् आयोजनालाई समेत प्रभावित बनाएको छ।
कतिपय आयोजनाका संरचनामा प्रत्यक्ष क्षति पुगेको छ भने केही आयोजनाको सडक, प्रसारण लाइन तथा सञ्चार सम्पर्क विच्छेद हुँदा विद्युत् उत्पादन र सञ्चालन प्रभावित भएको छ।
इप्पानका अनुसार प्रत्यक्ष क्षति पुगेका आयोजना संख्या १३ पुगेको छ। आयोजनासँग जोडिएका सडक, सञ्चार तथा अन्य पहुँचका संरचना क्षतिग्रस्त भएका कारण अप्रत्यक्ष रूपमा प्रभावित आयोजनाको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।
इप्पानले विभिन्न आयोजनाबाट प्राप्त विवरण पुनः प्रमाणीकरण गरिरहेको जनाएको छ। त्यस क्रममा उद्धार भइसकेका तथा सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गरी वास्तविक रूपमा सम्पर्कविहीन रहेकाहरूको संख्या यकिन गरिनेछ।
थप हेलिकप्टरबाट उद्धारको प्रयास
यसैबीच, बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा कामदारको उद्धारलाई तीव्र पारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आवश्यक उपकरण, सामग्री र जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा मापदण्ड पालना गर्दै उद्धार प्रयास भइरहेको छ।
विशेषगरी रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र जोखिमयुक्त क्षेत्रमा रहेका जनशक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली परिचालन गरिएको छ।
बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने बताइएको छ।
भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका आयोजना, सडक तथा सञ्चार सम्पर्क विच्छेद र प्रतिकूल मौसमका कारण उद्धार चुनौतीपूर्ण बनेकाले सुरक्षा निकाय, हेलिकप्टर, ऊर्जा क्षेत्रका निकाय र स्थानीय प्रशासनबीच थप तीव्र समन्वय आवश्यक देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्