ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय बग्यो, तर विद्यार्थी बाँचाउन सफल भए प्रधानाध्यापक : ‘स्कुलबाट निकालेर डाँडातिर पुर्‍यायौँ’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ११ : १५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नै बगायो । विद्यालय भवन र आसपासको संरचना ध्वस्त भयो । तर बाढी आउनुअघि नै प्रधानाध्यापक र विद्यालयका कर्मचारीले देखाएको तत्परताका कारण विद्यालयभित्र रहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजान सम्भव भयो ।

विद्यालय बगे पनि विद्यालयभित्र रहेका कुनै विद्यार्थी बाढीमा परेनन् ।

तर, सबै विद्यार्थी तत्कालै सुरक्षित ठाउँमा पुग्न सकेनन् । विद्यालयबाट डाँडातर्फ भागेका प्रधानाध्यापक राजेन्द्र दवाडीसहित करिब ४०–५० जना विद्यार्थी र कर्मचारी बाढीपछि अलपत्र परे । सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरू उद्धारको प्रतीक्षामा बस्न बाध्य भए ।

बाढी आएको तेस्रो दिन उनीहरूको उद्धार भएको छ । उद्धारपछि बट्टार आइपुगेका प्रधानाध्यापक दवाडीले त्यस अवधिको अनुभव सुनाउँदै आफूहरूसँग रहेका विद्यार्थीहरू सुरक्षित रहेको बताए ।

‘बाढी आयो, हामी बच्चाहरू लिएर डाँडातिर भाग्यौँ’

बाढी आउँदा विद्यालयबाट विद्यार्थीलाई तत्काल सुरक्षित स्थानतर्फ लैजानुपर्ने अवस्था सिर्जना भएको थियो ।

“अस्ति स्कुलबाट भाग्दा डाँडातिर उक्लेका थियौँ । त्यसपछि त्यही जोहो गरेर बस्यौँ । अलपत्रजस्तै भयौँ,” दवाडीले भने ।

बाढीपछि सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भयो । उनीसँग करिब ४०–५० जना विद्यार्थी र केही कर्मचारी थिए ।

“मसँग ४०–५० जना विद्यार्थी र स्टाफहरू पनि हुनुहुन्थ्यो । हामी बच्चाहरूसहित आज उद्धार भएका छौँ,” उनले भने ।

विद्यालय बगे पनि विद्यार्थीलाई पहिले नै बाहिर निकाल्न सक्नु नै आफूहरूको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ ।

तीन दिन डाँडामा बित्यो

बाढीपछि उनीहरू बसेको क्षेत्रमा सामान्य जीवनसमेत कठिन बनेको थियो । विद्युत् थिएन । सडक र पुल बगेका कारण आवतजावत बन्द थियो । पसलमा खाद्यान्न तथा आवश्यक सामग्री पाउनसमेत कठिन भएको दवाडीले बताए ।

“हिजो–अस्ति बसेको स्थानमा त बत्ती पनि थिएन । तल बजार बगाउने भएपछि भ्याउने मान्छेहरू डाँडा उक्लेका थिए । यता उक्लिए पनि यत्रो दिन कठिन नै बित्यो,” उनले भने ।

स्थानीयवासी र विभिन्न क्लबहरूले भने संकटका बेला सहयोग गरेका थिए । उनीहरूले कभर्ड हलमा खाना पकाएर प्रभावितलाई खुवाएका थिए ।

“स्थानीय भाइबहिनीहरूले र क्लबले कभर्ड हलमा खाना पकाएर खुवाए । हामी एउटा मण्डलीमा सामूहिक बसाइँ गरेर बितायौँ,” उनले सुनाए ।

अझै करिब १५ विद्यार्थी उद्धारको प्रतीक्षामा

प्रधानाध्यापक दवाडी र उनीसँग रहेका विद्यार्थी उद्धार भए पनि केही विद्यार्थी अझै सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा छन् ।

उनका अनुसार करिब १५ जना विद्यार्थी विदुर नगरपालिका–९ क्षेत्रमा छन् । उनीहरूलाई तत्काल उद्धारका लागि प्रशासन र सेनासँग समन्वय भइरहेको छ ।

“मैले उद्धारका लागि यहाँ सेनालाई पनि भनिसकेको छु । उहाँहरूले आज सम्भव छैन, भोलि दिनभरमा गर्छौँ भन्नुभएको छ,” दवाडीले बताए ।

उनीहरू प्लस टु तहका विद्यार्थी हुन्, अर्थात् अधिकांश १६ वर्षभन्दा माथिका छन् ।

दवाडीका अनुसार विद्यार्थीहरू अस्पतालनजिकै रहेको थ्रीडी ग्राउन्ड क्षेत्रमा छन्, जहाँ हेलिकोप्टरबाट प्रभावितलाई ल्याउने–लैजाने काम भइरहेको छ ।

“उनीहरू त्यहीँ आकाशमा हेलिकोप्टर हेरेर बसिरहेका छन् भन्ने सुनेको छु । सकेको छिटो सबैको उद्धार गर्न सबैले पहल गरौँ भन्न चाहन्छु,” उनले आग्रह गरे ।

सबै विद्यार्थी अभिभावकको सम्पर्कमा पुगेनन्

विद्यालयका सबै विद्यार्थीको अवस्था भने अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन ।

बाढीका बेला केही विद्यार्थीलाई आफन्त तथा अन्य सुरक्षित घरमा पठाइएको थियो । तर केही विद्यार्थीलाई पठाइएका घर तथा बस्ती नै बाढीले प्रभावित बनाएको हुनाले उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको दवाडीले बताए ।

“अभिभावकसँग पुग्न बाँकी भनेको त्यही १५ जनाजति अहिले माथि बसेकाहरू हुन् । ठ्याक्कै अभिभावकसम्मै नपुगेका विद्यार्थी दुई–तीन जना छन् भन्ने सुनेको छु,” उनले भने ।

उनका अनुसार कतिपय विद्यार्थीलाई पठाइएका घर नै बाढीले बगाएको अवस्था भएकाले उनीहरू र उनीहरूका परिवारबारे तत्काल यकिन गर्न नसकिएको हो ।

दुई कर्मचारी अझै सम्पर्कविहीन

विद्यालयका दुई कर्मचारी भने अझै सम्पर्कविहीन छन् ।

दवाडीका अनुसार शिक्षक सन्तोष परियार र एक जना कार्यालय सहयोगीसँग सम्पर्क हुन सकेको छैन ।

“मेरो दुईजना कर्मचारी, एकजना शिक्षक सन्तोष परियार र एकजना कार्यालय सहयोगी सम्पर्कविहीन हुनुहुन्छ,” उनले भने ।

विद्यालयका अन्य कर्मचारी तथा विद्यार्थीको अवस्थाबारे भने क्रमशः जानकारी प्राप्त भइरहेको उनले बताए ।

‘राज्यको सक्रियता ठिकै देखियो’

तीन दिनसम्म उद्धारको प्रतीक्षामा बसेका प्रधानाध्यापक दवाडीले भने राज्यको उद्धार प्रयासप्रति आफूलाई ठूलो गुनासो नरहेको बताए ।

उनका अनुसार बाढीपछि खुला स्थान वा घरबाहिर देखिएका मानिसको उद्धार धेरै हदसम्म गरिएको थियो । तर भित्र पुरिएका वा भग्नावशेषमा फसेका मानिसको खोजी भने अझै ठूलो चुनौती बनेको छ ।

“मलाई यो अवस्थामा ढिलो उद्धार गर्‍यो भन्ने लागेको छैन,” उनले भने ।

उनले थपे, “हामी त्यहाँ बस्यौँ, बाँच्यौँ । बाँचेका मान्छेलाई सामान्य खानपिन हामी आफैँले खोजेर गर्‍यौँ । तर खोलामा फसेका, बाटोमा फसेका र लास भएका ठाउँमा उद्धार–रेस्क्यु गर्दा बेटर हुन्छ ।”

उनका अनुसार तत्काल आश्रयविहीन भएकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा पुर्‍याउन सके अझ प्रभावकारी हुने थियो ।

“पहिला चाहिँ सामान्य आश्रय पनि नपाएकालाई भेटेर उद्धार गर्न पाए यो अवस्थामा धेरै राम्रो हुन्थ्यो । जेहोस्, मेरो धेरै गुनासो छैन । राज्यले भएका स्रोतसाधनबाट सकेको गरिरहेको छ भन्ने लाग्छ,” उनले भने ।

बट्टारमा उद्धारपछि स्वास्थ्य जाँच

बट्टार आइपुगेपछि उद्धार गरिएका व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ । उद्धार गरिएकाहरूको रक्तचापलगायत सामान्य स्वास्थ्य परीक्षण गरेर आफन्तको जिम्मा लगाउने व्यवस्था गरिएको दवाडीले बताए ।

गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ भने एम्बुलेन्समार्फत पनि बिरामीलाई काठमाडौं लैजाने व्यवस्था भइरहेको छ ।

उनका अनुसार बट्टार क्षेत्रमा ठूलो परिमाणमा खाद्यान्न तथा राहत सामग्रीसमेत ल्याएर राखिएको छ ।

“हिजो हामी त्यहाँ खानै नपाउने अवस्थामा थियौँ । हिजो भएको ठाउँमा यो राहत पुग्यो भने त्यहाँका मान्छेले पाउँथे भन्ने मलाई लाग्यो,” उनले भने ।

‘विद्यालय गुम्यो, तर विद्यार्थी गुम्न दिएनौँ’

भोटेकोशीको बाढीले त्रिशूली बजारमा विद्यालयसहित ठूलो भौतिक क्षति पुर्‍याएको छ । विद्यालय भवन अब रहेन । तर एउटा विद्यालयका लागि सबैभन्दा महत्वपूर्ण कुरा—विद्यार्थीको जीवन—जोगिएको छ ।

बाढी आउनुअघि नै विद्यार्थीलाई विद्यालयबाट निकालेर सुरक्षित स्थानतर्फ लैजाने निर्णयले ठूलो मानवीय क्षति रोक्न मद्दत गरेको देखिन्छ ।

तर विद्यालय परिवारका लागि विपत्ति अझै सकिएको छैन । केही विद्यार्थी उद्धारको प्रतीक्षामा छन् । दुई कर्मचारी सम्पर्कविहीन छन् । कतिपय विद्यार्थीका घर तथा परिवारको अवस्थासमेत स्पष्ट छैन ।

त्यसैले प्रधानाध्यापक दवाडीको आग्रह अहिले पनि उही छ—पहिले सबै विद्यार्थी र सम्पर्कविहीन व्यक्तिको सकुशल उद्धार होस् । पुनर्निर्माण पछि गर्न सकिन्छ ।

“सकेसम्म छिटो सबैको उद्धार गर्न सबैले पहल गरौँ,” उनले भने ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

भोटेकोसी बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

छोराको लामो कपालले अभिभावक र विद्यालयलाई तनाव : ‘कपाल काट्दिनँ’ भन्न थाले किशोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu