काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा स्थानीयले फेला पारेका थिए। स्थानीयले सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद रकम आफूखुसी निकालेर लगेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूको साथबाट नगद रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए। प्रहरीका अनुसार बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुनसक्ने अन्य सम्भावित व्यक्तिका सम्बन्धमा अनुसन्धान भइरहेको छ। बरामद रकम र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्