काठमाडौं । रसुवा लगायतका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगततर्फबाट ठूलो रकम सहयोग गर्ने ८७ वर्षीया राजी राणा चर्चामा आएकी छिन्।
राणाले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी हुन्। व्यवसायिक प्रतिष्ठान तथा संस्थाहरूले करोडौँ रुपैयाँ सहयोग गरिरहेका बेला व्यक्तिगततर्फबाट राणाले दिएको यो रकम अहिलेसम्मकै ठूलो सहयोग भएको बताइएको छ।
उमेर तथा स्वास्थ्यका कारण राणा आफैं रकम हस्तान्तरण गर्न अर्थ मन्त्रालय पुग्न नसकेपछि उनका सहयोगी कृष्ण बस्नेतमार्फत चेक पठाएकी थिइन्। बस्नेतले उक्त चेक अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
राणाको सहयोगबाट प्रेरित भएर उनको कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी थप ८० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।
राणाले आर्थिक सहयोगमा मात्रै आफ्नो योगदान सीमित गरेकी छैनन्। उनले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्रीसमेत अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेका बाढी प्रभावित क्षेत्रमा पठाउने प्रतिबद्धता जनाएकी छिन्।
स्वास्थ्य र शिक्षामा पनि निरन्तर सहयोग
राजी राणाको परोपकारी योगदान बाढीपीडितको सहयोगमा मात्र सीमित छैन। उनले लामो समयदेखि सामाजिक तथा परोपकारी क्षेत्रमा सक्रिय रूपमा सहयोग गर्दै आएकी छिन्।
विशेषगरी बालबालिकाको स्वास्थ्य उपचारका लागि उनले ठूलो आर्थिक सहयोग गर्दै आएकी छन्। काठमाडौंमा स्थापना भइरहेको ‘काठमाडौं चिल्ड्रेन्स हस्पिटल’को भवन निर्माण तथा बाल स्वास्थ्य सेवा सुदृढीकरणका लागि उनले व्यक्तिगत रूपमा १ करोड रुपैयाँ सहयोग गरेकी थिइन्।
उक्त योगदानका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) ले राणाप्रति विशेष आभारसमेत व्यक्त गरेको थियो।
प्रभुशमशेर जबराकी श्रीमती
राजी राणाका श्रीमान् प्रभुशमशेर जबरा नेपालका स्थापित समाजसेवी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाका संरक्षकका रूपमा परिचित थिए। उनी पूर्वराजा ज्ञानेन्द्रका पुराना मित्र तथा व्यापारिक साझेदारसमेत रहेको बताइन्छ।
पूर्वराजा ज्ञानेन्द्र सिमरा पुग्दा प्रायः प्रभुशमशेरकै निवासमा बस्ने गरेको बताइन्छ। लामो समयदेखि बिरामी रहेका प्रभुशमशेर जबराको सन् २०२१ मेमा निधन भएको थियो।
श्रीमान्को निधनपछि राजी राणाले उनीहरूको संयुक्त नाममा स्थापित ‘प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’मार्फत सामाजिक सेवाका कामलाई निरन्तरता दिँदै आएकी छिन्।
परोपकारमा करोडौँको योगदान
राणाले पारिवारिक गुठी तथा व्यक्तिगत सम्पत्तिमार्फत नेपालका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा ठूलो आर्थिक योगदान गर्दै आएकी छन्।
‘प्रभु शमशेर एन्ड राजी राणा ट्रस्ट’मार्फत बालबालिकाको कल्याणका लागि हेल्प नेपाल नेटवर्कलाई १ करोड रुपैयाँ सहयोग गरिएको थियो।
त्यस्तै, सदर चिडियाखानामा रहेका ‘चम्पा’ र ‘चिम्पू’ नामका दुई चिम्पान्जीको खानपान तथा हेरचाहका लागि ट्रस्टले १० लाख रुपैयाँ सहयोग गरेको थियो।
विपन्न तथा सीमान्तकृत मुसहर समुदायको उत्थान र व्यवस्थित आवासका लागि समेत राणाले पारिवारिक रूपमा आर्थिक सहयोग गर्दै बस्ती निर्माणमा योगदान पुर्याएकी छिन्।
श्रीमान्को निधनपछि पनि उनले पारिवारिक गुठी र व्यक्तिगत सम्पत्ति परिचालन गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा विपद्का क्षेत्रमा निरन्तर सहयोग गर्दै आएकी छन्।
बाढीपीडितका लागि यसपटक दिएको १ करोड ९ लाख रुपैयाँको सहयोगले भने उनको परोपकारी यात्रालाई पुनः चर्चामा ल्याएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्