ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ४ : ४५   बजे

काठमाडौँ  । रसुवाको भोटेकोशीमा विनाशकारी बाढीको उद्गमस्थल मानिएको ल्हेन्दे खोलामा फेरि दुई वटा साना ताल बनेको विज्ञहरूले बताएका छन् ।

हिमाल, हिमनदी तथा हिमपहिरोसम्बन्धी अध्ययनमा संलग्न चिनियाँ वैज्ञानिक गुवसियोङ चङले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा हिमपहिरो खसेको तल्लो भागमा लहरै दुई वटा साना ताल बनेको देखिएको हो ।

चिनियाँ वैज्ञानिक चङसँग अध्ययन अनुसन्धानमा संलग्न नेपाली हिमविज्ञ डा. नितेश खड्काका अनुसार नेपालतर्फै देखिएका यी तालमा धेरै ठूलो मात्रामा पानी सञ्चित भएको नदेखिए पनि तालको पानी जुनसुकै बेला तलतर्फ बग्न सक्ने भएकाले सावधानी आवश्यक छ ।

“यो घटनापछि देखिएका तालको आकार हेर्दा धेरै ठूलो मात्रामा पानी रहेको जस्तो त लाग्दैन । तर पनि पानी जतिबेला पनि बग्न सक्छ,” डा. खड्काले भन्नुभयो ।

पहिलेको जस्तो ठूलो जोखिम छैन

विज्ञहरूका अनुसार नयाँ बनेका दुई ताल फुटे पनि भदौ १० गते आएको जस्तो विनाशकारी बाढी आउने सम्भावना भने कम छ ।

डा. खड्काले तल्लो तटीय क्षेत्रमा पहिले नै ठूलो क्षति भइसकेकाले थप क्षतिको सम्भावना सीमित रहेको बताउनुभयो ।

“तल्लो क्षेत्रका घर, जग्गा, भौतिक पूर्वाधार बग्न र नोक्सानी हुन बाँकी केही छैन । योभन्दा बढी क्षति हुनलाई १० गतेको भन्दा ठूलो बाढी आउनुपर्छ,” उहाँले भन्नुभयो ।

तर अहिले त्रिशूली–३ ‘ए’ लगायतका जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धार भइरहेको अवस्थामा माथिल्लो क्षेत्रमा बन्ने साना तालबाट आउने पानीले उद्धार अभियानलाई असर गर्न सक्ने भएकाले समयमै उद्धार सम्पन्न गर्नुपर्ने उहाँको सुझाव छ ।

‘अब आत्तिइहाल्नुपर्ने अवस्था छैन’

डा. खड्काका अनुसार ठूलो स्तरको पानी र भग्नावशेष विस्फोट भइसकेकाले तल्लो क्षेत्रमा पहिलेको जस्तो जोखिम लगभग समाप्त भएको छ ।

“ठूलो खालको विस्फोटन भइसकेकाले अब तल्लो तहमा जोखिम शून्यप्रायः भइसकेको छ । अब आत्तिइहाल्नुपर्ने अवस्था भने छैन,” उहाँले भन्नुभयो ।

यद्यपि सानोतिनो भेलबाढी आउँदा लेदो तथा भग्नावशेष बग्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरप्रति भने सतर्क रहनुपर्ने उहाँको भनाइ छ ।

अर्का हिमविज्ञ डा. सुदीप ठकुरीले पनि जोखिमलाई सामान्य रूपमा नलिई निरन्तर निगरानी आवश्यक रहेको बताउनुभयो ।

“जोखिमप्रति सधैँ सचेत र सजग हुनुपर्छ । यथाशक्य छिटो उद्धारका काम सकेर थप मानवीय क्षति हुनबाट बच्नुपर्छ,” उहाँले भन्नुभयो ।

स्याटलाइट तस्बिरमा फेरि हिमपहिरोको संकेत

विज्ञहरूले अध्ययन गरेको स्याटलाइट तस्बिरमा नेपालतर्फको लाङटाङ लिरुङ हिमालको एक भागमा पहिरो गएको देखिएको छ । पहिरो खसेको माथिल्लो भागमा अझै हिउँ जम्मा रहेको देखिन्छ ।

भदौ १० गते बिहान हिमालको उक्त भाग ल्हेन्दे खोलामा खस्दा पानी र हिउँसहितको ठूलो परिमाणको पदार्थ खोलातर्फ खसेको र त्यसको प्रभावले तिब्बततर्फ तथा पुनः नेपालतर्फ विनाशकारी बाढी आएको विज्ञहरूले बताएका छन् ।

यस घटनाले हिमाली क्षेत्रमा हुने प्राकृतिक विपत्तिको प्रभाव सीमापारसम्म फैलिन सक्ने जोखिम पनि देखाएको विज्ञहरूको निष्कर्ष छ ।

डा. ठकुरीले यसै कारण नेपाल र चीनबीच प्राकृतिक विपद्सम्बन्धी सूचना आदानप्रदानलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“यो घटनाले अन्तरदेशीय प्रभाव देखाएकोले यस्ता खालका प्राकृतिक विपत्तिबाट बच्न र जोगिन अन्तरदेशीय सूचना प्रणाली विकास गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

उद्धार र पूर्वसूचना दुवै महत्त्वपूर्ण

ल्हेन्दे खोलामा नयाँ ताल देखिएसँगै विज्ञहरूको मुख्य जोड नियमित निगरानी, समयमै सूचना र जोखिम क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा छ ।

विशेषगरी सुरुङ, नदी किनार तथा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका जनशक्तिले माथिल्लो क्षेत्रमा पानीको सतह र तालको अवस्थाबारे प्राप्त हुने सूचनालाई निरन्तर आधार बनाउनुपर्ने देखिन्छ ।

भदौ १० गतेको घटनाले सीमावर्ती हिमाली क्षेत्रमा एउटा प्राकृतिक घटना केही मिनेटमै नदी प्रणाली हुँदै नेपालतर्फ ठूलो विपत्तिमा परिणत हुन सक्ने देखाएको छ । त्यसैले भविष्यमा यस्ता घटनाबाट हुने मानवीय क्षति घटाउन नेपाल–चीनबीच वास्तविक समयको सूचना आदानप्रदान, नदीको जलसतह निगरानी र आपत्कालीन पूर्वसूचना प्रणाली थप मजबुत बनाउनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

बाढी पीडितका लागि स्याङ्जाका ४ पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीः ६१६ शव फेला

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

गोलबजार नगरपालिकाले रसुवा बाढीपीडितलाई साढे पाँच लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu