काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शनिबार अपराह्न ४ बजेसम्म विभिन्न जिल्लाबाट गरी ६६९ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै २४८ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, विपद्को उद्धार तथा व्यवस्थापनमा खटिएका २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढीमा परी घाइते भएकामध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी १४० जना रहेको प्रहरीले जनाएको छ ।
भोटेकोशीबाट सुरु भएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीपछि बेपत्ता तथा सम्पर्कविहीनको खोजी, शव संकलन, घाइतेको उपचार तथा प्रभावित नागरिकको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्