काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले शनिबार ५५० जनाको उद्धार गरेको छ ।
सेनाका अनुसार उद्धार गरिएकामा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । भदौ १० गते बाढी आएदेखि शनिबारसम्म नेपाली सेनाले प्रभावित विभिन्न क्षेत्रबाट २ हजार ६५० जनाको उद्धार गरिसकेको जनाएको छ ।
उद्धारसँगै सेनाले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा समेत उपलब्ध गराइरहेको छ । नेपाली सेनाले सञ्चालन गरेको आपत्कालीन स्वास्थ्य उपचार केन्द्रबाट हालसम्म १ हजार ४०० भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
भोटेकोशी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि समेत नेपाली सेना परिचालित छ । सेनाका टोलीले प्रभावित क्षेत्रमा सुरुङ उत्खनन तथा भग्नावशेष पन्छाउने कामलाई निरन्तरता दिइरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेनाले ८ हजार ३०० फौज परिचालन गरेको जनाएको छ ।
सेनाका अनुसार प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य उपचार, राहत तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्