काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारबीचको समन्वय, सहकार्य र सहजीकरणमा पूर्ण क्षमताका साथ उद्धार, खोजी तथा राहत कार्य भइरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत सरकारले विपद्को अवस्थालाई अत्यन्त गम्भीर र संवेदनशील रूपमा लिएर काम गरिरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार बाढी आएलगत्तैदेखि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय गर्दै उद्धार तथा राहत अभियान सञ्चालन भइरहेको उनले बताएका छन् ।
“बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ,” प्रधानमन्त्री शाहले भनेका छन् ।
उनले तीनै तहका जनप्रतिनिधि तथा कर्मचारीसँगको निरन्तर समन्वय र सहकार्यमा उद्धार अभियानलाई पूर्ण क्षमताका साथ अघि बढाइएको दाबी गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार राज्यका सबै संयन्त्रलाई प्रभावित प्रत्येक नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिई परिचालन गरिएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी लगायतका जिल्लामा खोजी, उद्धार तथा राहत कार्य जारी छ । विभिन्न स्थानमा बेपत्ता नागरिकको खोजी तथा नदी किनार र भग्नावशेषमा उद्धार अभियान सञ्चालन भइरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्