काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शनिबार राति पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबार पनि वर्षाको जोखिम
महाशाखाले आइतबार पनि वर्षाको सम्भावना कायमै रहने जनाएको छ । आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा हुनसक्नेछ ।
त्यस्तै, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।
सोमबारसम्म मनसुन सक्रिय
सोमबार देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । सो दिन देशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
पछिल्लो समय भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा थप वर्षाको पूर्वानुमानले प्रभावित क्षेत्रको जोखिम अझ बढाउन सक्ने देखिन्छ । विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा बाढी प्रभावित बस्तीमा थप सतर्कता आवश्यक देखिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्