काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले रसुवा बाढीमा परी सम्पर्कविहीन भएका ओखलढुंगाका नागरिकको खोजतलासका लागि गृहमन्त्रालयलाई आग्रह गरेका छन् ।
शनिबार गृहमन्त्रालयमा सचिव राजकुमार श्रेष्ठलाई भेटेर नेता खतिवडाले बाढीमा परी सम्पर्कविहीन भएका २९ जना ओखलढुंगाको नागरिकको खोजतलास गरिदिन आग्रह गरेका हुन् ।
भेटका क्रममा आफूले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाएर जुनसुकै अवस्थामा रहेका भएपनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेको उनले बताए ।
‘राज्यले काम गरिरहेको छ । समर्थन छ, समर्थन गर्छौं पनि । हामी राजनीतिक कलह चाहन्नौं,’ खतिवडाले भने, ‘तर, छिटो गर्नुपर्यो । प्रभावित क्षेत्रमा राज्य चाँडो पुग्नुपर्यो । जनतालाई राज्य छ भन्ने अनुभूति दिनपर्यो ।’
भेटका क्रममा गृह सचिव श्रेष्ठलले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङभित्र रहेको जानकारी प्राप्त भएको बताए ।
विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको जानकारी दिएको भेटमा सहभागीले बताएका छन् ।
भेटमा कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायत सहभागी थिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्