काठमाडौँ, । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।
बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्याएका शव तथा शरीरका अङ्ग सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हालसम्म रसुवाबाट १३, नुवाकोटबाट ४१, धादिङबाट ४९, चितवनबाट २४८, गोरखाबाट ५४, तनहुँबाट ३१, पूर्वी नवलपरासीबाट १५८ र पश्चिम नवलपरासीबाट ७५ गरी ६६९ शव फेला परेको जानकारी दिए ।
लामो समयसम्म पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको काफ्लेले बताए ।
शव व्यवस्थापन गर्दा भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवको वैज्ञानिक प्रमाण सुरक्षित राखिने उनले बताए ।
“शवको व्यवस्थापन गर्दा तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने मात्र नभई भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवको वैज्ञानिक प्रमाण सुरक्षित राख्छौँ,” उनले भने ।
उद्धारका क्रममा शव वा शरीरका अङ्ग फेला परेपछि घटनास्थलमै लासजाँच मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । त्यसपछि फरेन्सिक चिकित्सकबाट परीक्षण गरी शव सफा गर्ने, अनुहार तथा शरीरको अगाडि, पछाडि, दायाँ र बायाँलगायत विभिन्न कोणबाट तस्बिर लिने तथा शरीरमा रहेका पहिचानजन्य चिह्न र विशेषताहरूको अभिलेख राखिनेछ ।
पहिचान नखुलेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गरी क्रमबद्ध रूपमा सुरक्षित व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । भविष्यमा आफन्तले शव दाबी गरेमा वैज्ञानिक परीक्षणबाट पहिचान गरी अन्तिम संस्कारका लागि परिवारलाई बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
यसरी सुरक्षित राखिएको अभिलेखले विपद्मा आफन्त गुमाएका परिवारलाई भविष्यमा आफ्ना सदस्यको खोजी तथा पहिचान गर्न महत्वपूर्ण आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
पहिचान नखुलेका शवको विवरण सर्वसाधारणको पहुँचमा पुर्याउन नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकमा छुट्टै व्यवस्था गरेको जनाएको छ । वेबसाइटमा राखिएका तस्बिर, हुलिया तथा अन्य विवरण हेरेर आफन्तले सम्भावित रूपमा शव पहिचान गर्न सक्नेछन् ।
शव पहिचान भएको जानकारी प्राप्त भएमा प्रहरीको हेल्प डेस्कमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाई परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्