विराटनगर । विराटनगरमा चोरी गरेर भाग्ने क्रममा घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा शनिबार राति चोरी गर्न प्रवेश गरेका अन्दाजी ३५–४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ः२० बजे भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको तेस्रो तलामा पुगेका थिए। घरधनीले तेस्रो तलामा अपरिचित व्यक्ति प्रवेश गरेको थाहा पाएपछि होहल्ला गरेका थिए।
होहल्लापछि वरपरका मानिस जम्मा हुन थालेपछि ती व्यक्ति भाग्ने क्रममा घरको तेस्रो तलाबाट खसेका थिए। गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।
डीएसपी श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी आइतबार बिहान करिब २ बजे शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ।
प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्