नुवाकोट । बिहान करिब साढे ९ बजे त्रिशूलीमा बाढी आउन लागेको खबर पाए पनि चण्डेश्वरी माध्यमिक विद्यालयकी शिक्षिका सीता आचार्यले अघिल्लो वर्षको जस्तै सामान्य बाढी होला भन्ने ठानिन् । विद्यालय त्रिशूली नदीबाट करिब पाँच सय मिटरको दूरीमा थियो। बालबालिकालाई नदी आसपास जान नदिनुपर्छ भन्ने सोच्दै उनी विद्यालय पुगिन्।
तर, विद्यालय पुग्दा अवस्था उनले सोचेभन्दा बिल्कुल फरक थियो।
शिक्षकहरू त्रसित थिए। विद्यार्थीहरू पनि आत्तिएका थिए। विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत थिए। तीमध्ये करिब एक सय ५० जना विद्यालय आउन सवारीसाधन प्रयोग गर्थे।
एउटा गाडी विद्यालय आइसकेको थियो। अर्को गाडीमा आउने विद्यार्थीलाई भने बाढीको जोखिम देखिएपछि बाटोमै सुरक्षित स्थानतर्फ जान भनियो। विद्यालयतर्फ आउँदै गरेको अर्को गाडीलाई पनि विद्यार्थी नल्याई सुरक्षित पाखोतर्फ लैजान भनियो।
विद्यालय आइपुगेका विद्यार्थीलाई हतार–हतार सुरक्षित स्थानतर्फ पठाउन थालियो। तर, १० बज्नै लाग्दा विद्यालयमा नआएका २० जनाभन्दा बढी विद्यार्थी सम्पर्कविहीन भइसकेका थिए।
‘सायद उनीहरूलाई नदीले बगाएर लग्यो’
शिक्षिका आचार्यका अनुसार हराएका विद्यार्थीको खोजी गरियो, तर तत्काल उनीहरूको अवस्था पत्ता लाग्न सकेन।
“एक जना बालिका त मेरै साथीकी छोरी थिइन्। उनी बेपत्ता भएको खबर भन्न पनि सकिनँ। अन्य शिक्षकहरूले खबर पठाए,” उनले सुनाइन्।
उनका लागि सबैभन्दा पीडादायी घटना एक बालकसँग जोडिएको छ। बाढीमा उक्त बालकका परिवारका सबै सदस्य बगेका थिए। अवस्था थाहा पाएपछि उनले बालकलाई दुई दिन आफ्नै घरमा राखिन्।
“उनको मावलीमा खबर भयो। मावली आएर लगे। तर मैले ‘तेरो आमाबाबु बगे’ भनेर भन्न सकिनँ,” आचार्यले भनिन्, “यो एउटा शिक्षकका लागि धेरै पीडादायी घटना हो।”
परिवार गुमाएको सत्य बालकलाई कसरी सुनाउने भन्ने पीडाले आफूले त्यो कुरा भन्न नसकेको उनले बताइन्। अहिले ती बालक काठमाडौं गएको र विद्यालय फर्कने अवस्था नरहेको हुनसक्ने उनको भनाइ छ।
‘आँखा चिम्लिँदा बाढीको दृश्य आउँछ’
बाढीपछि सुरक्षित स्थानमा पठाइएका विद्यार्थीको चिन्ता सकिएको थिएन। दिउँसो ३ बजेदेखि झन् घनघोर वर्षा भयो।
“खोलातिर बग्छन् कि भन्ने डर भयो। पानीले गाउँ नै बगाउला जस्तो भयो। कतै गड्याङगुडुङ हुँदा पनि बाढी आएको जस्तै लाग्थ्यो,” उनले भनिन्।
बेपत्ता विद्यार्थीको सम्झनाले आफूलाई अझै सताइरहेको उनले बताइन्।
“हराएका बालबालिकाको यादले आँखा रसाइरहन्छन्। उनीहरूको सम्झनाले खाना पकाउन पनि मन लाग्दैन, खान पनि मन लाग्दैन,” उनले सुनाइन्।
उनको घरमा केही समय आश्रय लिएका बालबालिकाले समेत खाना खान नसकेको उनले बताइन्। अभिभावक र साथीहरू कहाँ छन् भन्ने प्रश्नले उनीहरूलाई पनि मानसिक रूपमा गम्भीर असर पारेको उनको अनुभव छ।
‘बस्ती कहाँ थियो भन्ने पनि छुट्याउन सकिँदैन’
भोटेकोशी र त्रिशूलीमा आएको बाढीले नुवाकोटका बेत्रावती, सोले, ढुंगे र त्रिशूली क्षेत्रलाई तहसनहस पारेको आचार्यले बताइन्।
“त्यहाँ गएर कसको घर, कसको गोठ भन्ने त परै जावस्, बस्ती कता थियो भन्ने पनि भेउ पाइँदैन,” उनले भनिन्।
बाढीले कति क्षति पुर्यायो भन्ने यकिन तथ्यांकसमेत तत्काल पत्ता लगाउन कठिन रहेको उनको भनाइ छ।
“सबै पीडामा मात्रै छन्। सबै त्रासमा छन्,” उनले भनिन्।
उनका अनुसार आफ्नै गाउँका करिब ८० जना मानिस सम्पर्कविहीन छन्। बाढीका बेला मानिसहरू खुला ठाउँ खोज्दै भागेका र कतिपय घरमै बसेका थिए। अहिले तीमध्ये धेरै सम्पर्कमा छैनन्।
“त्यहाँ बस्दा नरोएको व्यक्ति छैन। मानिस नमरेको घर छैन,” उनले भनिन्।
आठ घण्टा पैदल हिँडेर काठमाडौं
बाढीपछि विद्यालय कहिले खुल्छ भन्ने टुंगो छैन। त्यसैले शिक्षिका आचार्य छोरीलाई साथमा लिएर काठमाडौं आएकी छन्।
नुवाकोटतर्फको सडक सम्पर्क अवरुद्ध भएपछि उनले पैदलै करिब आठ घण्टा हिँडेर गल्छी पुगेकी थिइन्। त्यसपछि काठमाडौं आइपुगेकी हुन्।
“म अझै विक्षिप्त छु। रातमा निद्रा लाग्दैन। खान मन छैन,” उनले भनिन्।
आफन्त गुमाएका, बेपत्ता परिवारजनको खबर कुरिरहेका र घरबारविहीन भएका नागरिकको पीडा शब्दमा बयान गर्न नसकिने उनको अनुभव छ।
‘यस्तो पीडा कसैलाई नहोस्’
आचार्यले बाढीको विनाशलाई आफूले कल्पना गरेका कुनै पनि दृश्यभन्दा भयावह भएको बताइन्।
“मोबाइल आएपछि एनिमेसन गरेको फिल्ममा ठूला जनावरहरूले एकै खेपमा सखाप पारेको देखिन्थ्यो। अहिले नदीको बाढीले त्योभन्दा ठूलो क्षति गरेको आफ्नै आँखाले देखियो,” उनले भनिन्।
गत वर्ष पनि बाढी आएको भए पनि यसपटकको अवस्था पूर्ण रूपमा फरक रहेको उनको भनाइ छ।
“पोहोर साल पनि बाढी आएको थियो। रसुवामा प्रहरी चौकी पनि बगेकै हो। तर नदीमा मिसिएपछि सामान्य सतह बढ्ने भएकोले खोला छेउमा जान मिल्दैन भन्ने मात्र सोच थियो,” उनले भनिन्।
यसपटक भने बाढीको तीव्रता र विनाशले आफूहरूलाई स्तब्ध बनाएको उनले बताइन्।
उनका अनुसार बाढीका कारण भूकम्पसमेत आएकोजस्तो अनुभव भएको थियो। कतिपय मानिस भूकम्पबाट जोगिन खोला किनारमा खुला ठाउँतर्फ गएका थिए भने कतिपय घरमै बसेका थिए। उनीहरूमध्ये धेरै अहिले सम्पर्कविहीन छन्।
बालबालिकाको मानसिक घाउ अझ गहिरो
आचार्यका अनुसार विपत्तिको सबैभन्दा गहिरो असर बालबालिकाको मानसिक स्वास्थ्यमा पर्ने देखिएको छ।
“बालबालिकाको कलिलो मनमा कति चोट छ, अनुमान गर्न सकिँदैन,” उनले भनिन्।
उनको अनुमानमा प्रभावित बालबालिकालाई सामान्य अवस्थामा फर्काएर विद्यालय सञ्चालन गर्न समय लाग्नेछ। सम्भवतः दशैँपछि मात्र विद्यालय सञ्चालन गर्न सहज हुनसक्ने उनको आकलन छ।
यद्यपि सरकारले राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सके प्रभावित समुदायमा विस्तारै आशा पलाउने उनको विश्वास छ।
“परिवार गुमाएका, बेपत्ता भएर खबर नपाइएका र घरबारविहीन भएकाहरूलाई कस्तो भएको होला, त्यो अनुमान गर्न पनि गाह्रो छ,” उनले भनिन्।
अन्त्यमा उनको एउटै कामना छ— “यस्तो पीडा र दुःख कसैलाई नहोस्।”
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्