काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको बीटीएस टावर सञ्चालनमा ल्याएको छ । टावर सञ्चालनमा आएसँगै आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।
बाढीका कारण प्रभावित बनेको टावर सञ्चालन गर्न आवश्यक जेनेरेटर तथा इन्धन नेपाल टेलिकमकै सवारीसाधनमार्फत पुर्याइएको थियो । केही सामग्री भने करिब एक घण्टाको दूरीसम्म मानव ढुवानीमार्फत साइटसम्म पुर्याइएको सञ्चार मन्त्रालयले जनाएको छ ।
कम्पनीका प्राविधिक टोलीले आवश्यक प्राविधिक परीक्षण पूरा गरेपछि टावर सञ्चालनमा ल्याएका हुन् ।
तुप्चे बीटीएसबाट पनि सेवा सुचारु
यसैगरी रसुवाकै तुप्चे बीटीएस टावर पनि शनिबारदेखि सञ्चालनमा आएको छ ।
टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धनसहित प्राविधिक टोली हेलिकप्टरमार्फत त्रिशूलीबाट साइटमा पुगेको थियो । टोलीले आवश्यक व्यवस्थापन तथा प्राविधिक काम पूरा गरेपछि सेवा सञ्चालनमा आएको हो ।
तुप्चे बीटीएस सञ्चालनमा आएसँगै त्रिशूली–३ ‘बी’ आयोजना आसपास, बेत्रावती तथा कालिकास्थानका केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सुचारु भएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार, खोजी तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको अवस्थामा टावरहरू पुनः सञ्चालनमा आउनुले उद्धार टोली र प्रभावित नागरिकबीच सम्पर्क कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्