काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म पुग्न सफल भएको छ।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको बताएका छन्। उनका अनुसार सुरुङमा बनाइएको सानो प्वालबाट हावा पठाउने कामसमेत सुरु भइसकेको छ।
‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,’ गृहमन्त्री गुरुङले उल्लेख गरेका छन्।
ड्रिलिङमार्फत सुरुङ खोल्ने प्रयास
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङ लेदो तथा भग्नावशेषले पुरिँदा आयोजनाभित्र कार्यरत मानिसहरू सम्पर्कविहीन भएका थिए।
शनिबार बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले सुरुङमा जमेको लेदो हटाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास गरिरहेको थियो।
उद्धारलाई थप प्रभावकारी बनाउन सुरुङभित्र सानो प्वाल बनाएर क्यामेरा र अक्सिजन पठाउने कामसमेत सुरु गरिएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ।
उक्त प्वालमार्फत सुरुङभित्र हावा तथा आवश्यक उपकरण पठाउने र त्यसपछि थुप्रिएको लेदो हटाउँदै उद्धार टोलीलाई भित्र प्रवेश गराउने तयारी भइरहेको छ।
४२ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।
उनीहरू सुरुङभित्र फसेको आशंकापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले निरन्तर उद्धार प्रयास गरिरहेका छन्।
सुरुङको क्राउनसम्म पुग्न सफल हुनु र त्यहाँबाट हावा पठाउन सुरु हुनु उद्धार अभियानका लागि महत्वपूर्ण प्रगति मानिएको छ। अब सुरुङभित्रको अवस्था क्यामेरामार्फत पहिचान गर्दै लेदो तथा भग्नावशेष हटाएर उद्धार टोलीलाई भित्र पठाउने प्रयास अघि बढाइनेछ।
सुरुङभित्र फसेकाहरू जीवित रहेको पुष्टि हुन भने अझै बाँकी छ। त्यसैले उद्धार टोलीले सुरक्षित रूपमा भित्र प्रवेश गरी वास्तविक अवस्था पत्ता लगाउनुलाई अहिलेको मुख्य चुनौतीका रूपमा लिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्