रसुवा । भोटेकोशी नदीमा आइतबार बिहान पुनः बाढी आएपछि रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । भदौ १० गतेको विनाशकारी बाढीबाट त्रसित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः बाढी आएपछि थप डर र त्रास फैलिएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार बिहान करिब ३ः३० बजेतिर ठूलो आवाजसहित बाढी आएपछि नदीतटभन्दा माथिल्लो भागमा रहेको धुन्चेका स्थानीयसमेत सुरक्षित स्थानतर्फ सरेका थिए ।
धुन्चेवासी अस्पताल क्षेत्र तथा खेलमैदानमा भेला भएर बसेका थिए । अहिले पानीको बहाव घट्न थालेपछि स्थानीय आ–आफ्नो घरतर्फ फर्किन थालेका छन् ।
बाढी आएको जानकारी पाएलगत्तै छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार नुवाकोट प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन माइकिङ गरेको जानकारी प्राप्त भएको छ ।
यसैबीच, आपत्कालीन अवस्थाका लागि धुन्चेमा राखिएको नेपाली सेनाको हेलिकोप्टर बाढी प्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पुनः आएको बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन । रासस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्