काठमाडौं । आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा आधा घण्टामै जलसतह ३ मिटरसम्म बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान करिब ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाबाट भोटेकोसीमा ठूलो बाढी आएको जानकारी प्राप्त भएको थियो।
महाशाखाका हाइड्रोलोजिक इन्जिनियर सचित कर्माचार्यका अनुसार भोटेकोसीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएको थियो।
“बाढीको ठूलो आवाज आयो भन्ने जानकारी आएको थियो,” कर्माचार्यले भने।
उनका अनुसार उक्त बाढीका कारण बिहान ६ः१० बजेसम्म गल्छीस्थित त्रिशूली नदीमा आधा घण्टाको अवधिमै जलसतह ३ मिटरसम्म बढेको थियो। कालीखोलामा पनि जलसतह बढेको उनले जानकारी दिए।
भोटेकोसीमा आएको बाढीको आधिकारिक कारण र क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भइसकेको छैन। कर्माचार्यले वर्षाका कारण मात्रै नभई कुनै कृत्रिम तालमा पहिरो गई पानी एक्कासि बगेको हुनसक्ने आशंका व्यक्त गरे।
उनले त्रिशूली तथा अन्य नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। बाढीको वास्तविक अवस्था र स्रोतबारे थप विवरण प्राप्त भएपछि मात्र क्षतिको यकिन जानकारी हुने महाशाखाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्