रसुवा । भोटेकोसी नदीमा आइतबार बिहान पुनः बाढी आएपछि रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। भदौ १० गतेको विनाशकारी बाढीबाट त्रसित स्थानीयमा पुनः बाढी आएपछि थप डर र त्रास फैलिएको छ।
गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङका अनुसार बिहान करिब ३ः३० बजेतिर ठूलो आवाजसहित नदीमा बाढी आएपछि धुन्चेका स्थानीयसमेत सुरक्षित स्थानतर्फ लागेका थिए।
नदीतटभन्दा माथिल्लो भागमा रहेको धुन्चेका बासिन्दा अस्पताल क्षेत्र तथा खेलमैदानमा भेला भएर बसेका थिए। केही समयपछि पानीको बहाव घट्न थालेपछि स्थानीय आ–आफ्नो घरतर्फ फर्किन थालेका छन्।
बाढी आएको जानकारी पाएलगत्तै छिमेकी जिल्ला नुवाकोटमा समेत सम्पर्क गरिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए। नुवाकोट प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन माइकिङ गरेको जानकारी प्राप्त भएको उनले बताए।
यसैबीच, आपत्कालीन अवस्थाका लागि धुन्चेमा तयारी अवस्थामा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढी प्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ गएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पुनः आएको बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।
भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। त्यसपछि पुनः नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दा थप त्रसित भएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्