ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीले बगाएको घर, सम्झनाका लागि एउटा ढुंगा : देवीघाटमा बाँचेका जीवनका कथा


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

नुवाकोट । भगवती खतिवडाको आवाज सुस्त थियो। आँखामा आँसु टिलपिलाइरहेका थिए। उनका अगाडि आफ्नै घरको भग्नावशेष थियो।

केही दिनअघिसम्म यही घरमा उनको परिवार बस्थ्यो। यही घरमा उनको स्टेसनरी पसल थियो। बिहानको सुरुवातदेखि दिनको अन्त्यसम्म उनको संसार यही घर वरिपरि घुम्थ्यो।

तर शनिबार उनी घर फर्किन आएकी थिइनन्। घरमा बाँकी केही छ कि भनेर खोज्न आएकी थिइन्।

घरभित्र पस्ने अवस्था थिएन। स्टेसनरी पसल माटोभित्र पुरिइसकेको थियो। भित्ताहरू भत्किएका थिए। घर चिन्नै नसकिने भएको थियो।

भगवती भग्नावशेष नियाल्दै केही दिनअघिको आफ्नो जीवन सम्झिरहेकी थिइन्।

उनी ५० वर्षकी भइन्। उनका श्रीमान् मीनकुमार खतिवडा ५४ वर्षका छन्। भदौ १० गते बिहान करिब ८ः४५ बजेको थियो। दम्पती बिहानको खाना बनाउने तयारीमा थिए। त्यही बेला प्रहरीले माइकिङ गर्दै भन्यो—

“रसुवातिरबाट ठूलो बाढी आउँदैछ।”

भगवतीलाई सुरुमा त्यति ठूलो विपत्ति आउँछ भन्ने लागेको थिएन। वर्षायाममा आउने बाढीजस्तै होला भन्ने लागेको थियो।

तर केहीबेरमै देवीघाट बजारमा भागदौड मच्चियो।

खाना त्यहीँ रह्यो। सामान त्यहीँ रह्यो। घर त्यहीँ रह्यो।

उनीहरू भने ज्यान जोगाउन माथिल्लो डाँडातर्फ दौडिए।

“सबै छाडेर भाग्यौँ,” भगवतीले त्यो बिहान सम्झिँदै भनिन्, “माथिबाट आँखैअघि घर लग्यो। बजार लग्यो। पक्की पुल लग्यो। अनि हेर्दाहेर्दै चार–पाँच जना मान्छे पनि बगाएको देख्यौँ।”

त्यो दृश्य सम्झँदा उनको आवाज फेरि भारी भयो।

बाढी रोकिएपछि देवीघाटको स्वरूप नै बदलिएको थियो। जहाँ बजार थियो, त्यहाँ माटो थियो।

जहाँ पसलहरू थिए, त्यहाँ भग्नावशेष थिए।

जहाँ मानिसहरू हिँड्थे, त्यहाँ लेदो, ढुंगा, काठ र बाढीले छाडेका अवशेष थिए। घरका भित्तामा रूखका हाँगा अड्किएका थिए। बिजुलीका तारहरू लत्रिएका थिए। कतै सटर बाङ्गिएका थिए। कतै घरको पहिलो तलासम्म माटो भरिएको थियो। र त्यही भग्नावशेषबीच मानिसहरू आफ्नै विगत खोजिरहेका थिए।

कसैले कपडा निकालिरहेका थिए। कसैले नागरिकता र अन्य कागजपत्र खोजिरहेका थिए।

कसैले माटो पन्छाउँदै घरभित्र बाँकी केही भेटिन्छ कि भनेर हेरिरहेका थिए।

भगवती पनि त्यही भीडमा थिइन्। तर उनको खोजी खाली हातमै टुंगियो।

उनका दुई छोरा विदेशमा छन्। उनीहरूले फोन गरेर आमाबुबालाई नआत्तिन भनेका छन्।

तर कसरी नआत्तिनु?

जिन्दगीभरको मेहनत एकैछिनमा बाढीले बगाएपछि। भगवतीले आँसु पुछ्दै भनिन्—

“सबै शून्यबाट सुरु गर्नुपर्ने भयो। मान्छेको ज्यान नै गयो। हामी धन्न बाँचेछौँ। त्यही ठूलो कुरा हो।”

सबै गुमे पनि ज्यान बाँचेकोमा उनले आफूलाई भाग्यमानी ठानिरहेकी थिइन्।

अहिले भगवती र मीनकुमार बट्टारमा आफन्तको घरमा आश्रय लिएर बसेका छन्। तर उनीहरूको घर अब घर रहेन।

त्यो उनीहरूको विगतको एउटा भग्न सम्झना बनेको छ।

छोराले मागेको गिटार र जुत्ता

भगवतीको घरको ठीक अगाडि सम्झना थापा कोइरालाको परिवारको पनि उस्तै अवस्था थियो।

पाँच सदस्यीय परिवारको घर थियो। घरमै भेटेरिनरी पसल थियो।

बाढीले पसल पुर्‍यो। घरको पहिलो तलासम्म माटो भरियो।

शनिबार सम्झना माटो पन्छाउँदै थिइन्। कहिले कपडा निकाल्थिन्, कहिले कागजपत्र। तर उनको खोजीको कारण अलि फरक थियो।

उनी आफ्ना छोराको माग पूरा गर्न आएकी थिइन्। कक्षा ९ मा पढ्ने उनका छोरा बाढी आएको दिन विद्यालय गएका थिए। त्यसैले घरको अवस्था उनले आफ्नै आँखाले देख्न पाएका थिएनन्।

उनले आमालाई फोन गरेर भनेका थिए—

“आमा, मेरो गिटार र जुत्ता ल्याइदिनु है।”

सम्झना माटो पन्छाउँदै ती सामान खोजिरहेकी थिइन्। तर उनले भेटाउन सकिनन्।

उनको अनुहारमा पीडा मात्र थिएन, छोरालाई के जवाफ दिने भन्ने अन्योल पनि थियो। “अब छोरालाई के भन्ने, थाहा छैन,” उनी भन्दै थिइन्।

कोदालो बोकेर फर्किएको सन्तोष

नजिकै सन्तोष थापा कोदालो बोकेर आइपुगे।

सात जनाको परिवार बस्ने उनको घर पनि बाढीले लगेको थियो। उनको हातमा कोदालो थियो। अगाडि भग्नावशेष।

उनी पनि घरभित्र बाँकी रहेका कपडा र महत्त्वपूर्ण कागजपत्र निकाल्ने प्रयासमा थिए।

भौतिक सम्पत्ति गुमेको पीडाभन्दा पनि केही महत्त्वपूर्ण कागज जोगाउन सकिन्छ कि भन्ने चिन्ता उनलाई थियो। देवीघाट कुनै सामान्य बजार थिएन।

मन्दिरमा दर्शन गर्न आउने पर्यटकको भीडले भरिने ठाउँ थियो।

चहलपहलले भरिएको त्यही बजार केही दिनमै उजाड बनेको थियो। सन्तोषलाई आफ्नो घर मात्र हराएजस्तो लागेन।

एउटा सिंगो संसार हराएजस्तो भयो। उनले भने,

“हाम्रो सबथोक लग्यो। अब जिन्दगी फेरि सुरुदेखि नै सुरु गर्नुपर्ने भयो।”

तर त्यही पीडाबीच सन्तोष एउटा कुरामा भने सन्तुष्ट थिए। यति ठूलो बाढी आउँदा पनि धेरै मानिस समयमै भागेर ज्यान जोगाउन सफल भए।

उनका अनुसार बजारमा १२–१३ जनाको ज्यान गएको खबर सुनिएको थियो।

“धेरैले अलि अगाडि सूचना पाएकाले बाँच्न सफल भए,” उनले भने।

आधा घण्टाको सूचनाले बचायो १४ जनाको ज्यान

विष्णु प्याकुरेल ३९ वर्षका छन्। पेसाले चालक। त्यो दिन उनी काठमाडौँतर्फ जाँदै थिए।

महादेवबेँसी पुगेपछि रसुवाबाट साथीको फोन आयो।

साथीले भने— “रसुवाको अवस्था नाजुक छ। ठूलो बाढी आउँदैछ, तुरुन्तै भागिहाल्नू।”

विष्णुले करिब आधा घण्टाअघि सूचना पाए।

त्यही आधा घण्टाले उनको परिवारको भाग्य बदलिदियो। उनको परिवारका १४ जना घरबाट बाहिर निस्किए।

सबै १४ जना बाँचे।

तर घर बचेन।शनिबार मात्रै विष्णु आफ्नो घरभित्र पस्न सके।

उनले केही कपडा निकाले—फेरि लगाउनका लागि। त्यसबाहेक घरभित्रबाट केही निकाल्न सकेनन्।

बाल्यकालको घरबाट एउटा ढुंगा

माया रिमाल देवकोटा हेटौँडाबाट देवीघाट आइपुगेकी थिइन्। देवीघाट उनको लागि केवल एउटा ठाउँ थिएन।

त्यहीँ उनको बाल्यकाल बितेको थियो। त्यहीँ उनको माइतीघर थियो।

बाढीले आफ्नो बाल्यकालको घर ध्वस्त बनाएको दृश्य देख्दा उनले आँसु रोक्न सकिनन्। तर आँसु पुछ्नुअघि नै उनको नजर छोरातिर गयो।

सानो छोरा खोलाको किनारतिर जान खोजिरहेको थियो।

उनले आत्तिँदै बोलाइन्— “खोलातिर नजाऊ न बाबु!”

घरबाट फर्किँदा उनको हातमा एउटा सारी थियो। अनि अर्को हातमा एउटा ढुंगा।

घर थिएन।

आफू खेलेको आँगन थिएन। बाल्यकालको त्यो संसार थिएन।

त्यसैले उनले त्यही घर भएको ठाउँको एउटा ढुंगा साथमा लिइन्। आँखाभरि आँसु पार्दै उनले भनिन्—

“केही भेटिनँ। सम्झनाका लागि यही एक टुक्रो ढुंगा लिएर जाँदैछु। यो त्यही ठाउँको हो, जहाँ म हुर्किएँ।”

सायद त्यो ढुंगा अब उनको लागि ढुंगा मात्र रहने थिएन।

त्यो उनको बाल्यकालको एउटा टुक्रा थियो।

उनको घरको। उनको आँगनको।उनको सम्झनाको।

भग्न घरबाट निस्किएको एउटा ग्यास सिलिन्डर

देवीघाटमै निलु खतिवडाको घर पनि बाढीले लग्यो।

हरियो रङको त्यो घरमा उनका दुई छोराछोरी र आमा बस्दै आएका थिए।

शनिबार उनी श्रीमान्सँगै बचेखुचेको सामान निकाल्न घर पुगेकी थिइन्।

धेरै कुरा निकाल्न सकिनन्। तर एउटा ग्यास सिलिन्डर निकाल्न सफल भइन्।

बाहिरबाट हेर्दा त्यो एउटा सामान्य ग्यास सिलिन्डर थियो।

तर सबैथोक गुमाइसकेकी निलुका लागि त्यो भोलिको जीवनको एउटा सानो आधार थियो।

सायद त्यसैबाट फेरि खाना पकाउन सकिन्थ्यो। सायद त्यसैबाट फेरि जीवन सुरु गर्न सकिन्थ्यो।

देवीघाटका भग्न घरहरूमा त्यस्ता धेरै मानिस थिए, जसले केही पनि जोगाउन सकेनन्।

तर उनीहरूले खोज्न भने छाडेका थिएनन्। कसैले कपडा खोजिरहेको थियो।

कसैले कागजपत्र। कसैले छोराको गिटार। कसैले बाल्यकालको एउटा चिनो।

र कसैले भोलिबाट फेरि सुरु गर्न सकिने एउटा सानो आधार।

भोटेकोसीले उनीहरूको घर, पसल, सामान र सम्झनाका धेरै चिनो बगायो। तर उनीहरू भग्नावशेषबीच पनि एउटा कुरा खोजिरहेका थिए—बाँकी रहेको जीवन।

किनकि घर फेरि बनाउन सकिएला। पसल फेरि खोल्न सकिएला। सामान फेरि किन्न सकिएला।

तर गुमेका मानिस र बितेको समय भने फर्केर आउने छैनन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट डोजर र एक्स्काभेटर लगिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu