काठमाडौँ । लाङटाङ लिरुङ हिमालको टुप्पोबाट खसेको हिउँको ठूलो ढिक्का करिब आठ महिनादेखि निरन्तर भासिँदै आएको र भदौ १० गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा विनाशकारी हिमबाढी आएको तथ्य सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका प्रमुख वैज्ञानिक प्राध्यापक डा. मनुचेहर सिरजाईले सेन्टिनेल–१ राडार भूउपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण गर्दै भोटेकोशीमा हिमबाढी आउनुको प्रमुख कारण हिमनदीको मुहानमा ठूलो हिउँ–चट्टान खस्नु रहेको औँल्याएका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको प्रारम्भिक विश्लेषणअनुसार उक्त हिउँ–चट्टान लामो समयदेखि क्रमशः तल खस्किँदै आएको थियो र अन्ततः भदौ १० गते ठूलो हिस्सा जमिनमा बजारिन पुगेको हो।
आठ महिनादेखि तल खस्किँदै थियो हिउँ–चट्टान
प्राध्यापक सिरजाईका अनुसार जनवरी ८ देखि अगस्ट १९ सम्मका सेन्टिनेल–१ उपग्रहका राडार तस्बिर विश्लेषण गर्दा नेपाल–तिब्बत सीमास्थित विपद्को उद्गमस्थलनजिक रहेको हिउँ–चट्टान प्रणाली प्रतिमहिना करिब १० मिलिमिटरका दरले तल खस्किँदै गएको देखिएको छ।
उनका अनुसार भदौ १० को घटनाभन्दा सात दिनअघिसम्मका तस्बिरमा समेत हिउँ–चट्टानको संरचना क्रमशः अस्थिर र असंरचित बन्दै गएको देखिन्छ।
यसले भोटेकोशीमा आएको बाढी अचानक शून्यबाट सिर्जना भएको नभई लामो समयदेखि विकसित हुँदै आएको हिमाली भू–जोखिमको परिणाम हुन सक्ने संकेत गरेको छ।
जलवायुविज्ञ उज्ज्वल उपाध्यायले हिउँ–चट्टानमा बढ्दो तापक्रमको असरका कारण यस्तो घटना भएको हुनसक्ने बताएका छन्।
उनका अनुसार अहिले नेपालका हिमाली क्षेत्रमा हुनुपर्ने औसत तापक्रमभन्दा तापक्रम बढी रहेको छ। लामो समयदेखि बढेको तापक्रमले खस्किँदै गएको हिउँको ढिक्कालाई थप पगाल्दै लगेपछि कडा चट्टानजस्तो जमेको हिउँ अचानक चोइटिएर खसेको हुनसक्ने उनको अनुमान छ।
उपाध्यायका अनुसार जनवरीदेखि उच्चस्तरमा रहेको तापक्रमले नेपालका हिमालमा पारेको असरको एउटा महत्वपूर्ण उदाहरणका रूपमा यो घटनालाई लिन सकिन्छ।
लाङटाङ लिरुङको उत्तरी भाग तथा क्यान्जिङगुम्बाको अर्कोपट्टि विगतका तस्बिरमा ठूलो क्षेत्रमा बरफ थुप्रिएको र त्यो भाग तलतिर लच्किएको देखिन्छ। त्यसको तल्लो भागमा यसअघि नै बरफ खसेर डुँडजस्तो गल्छी बनेको अवस्थासमेत देखिएको उनको भनाइ छ।
यसले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिउँ तथा बरफको संरचनामा आएको परिवर्तन र त्यसबाट सिर्जित अस्थिरताबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक देखाएको छ।
जोखिम भने अझै टरेको छैन
भोटेकोशीमा हिमबाढी आएको उद्गमस्थलमा बनेका दुई तालमध्ये एउटा ठूलो तालको पानी शनिबार र आइतबार गरेर बाहिरिएको छ।
तर जोखिम पूर्ण रूपमा हटिसकेको छैन।
बाढीविज्ञ विनोद पराजुलीका अनुसार माथिल्लो भागमा रहेको अर्को तालमा पानी जम्मा हुँदै गएको छ। त्यस तालमा जम्मा भएको पानी तल रहेको तालमा पुगेर पुनः जम्मा हुने जोखिम कायमै रहेको उनको भनाइ छ।
यसकारण पहिलो हिमबाढीपछि पानीको बहाव घटे पनि उद्गम क्षेत्रमा बनेका ताल र हिमाली भू–भागको निरन्तर निगरानी आवश्यक देखिएको छ।
भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म पुगेको पछिल्लो बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि यसको वास्तविक कारण र भविष्यमा दोहोरिन सक्ने जोखिमबारे वैज्ञानिक अध्ययनको आवश्यकता अझ बढेको छ।
लाङटाङ लिरुङ क्षेत्रमा हिउँ–चट्टानको लामो समयदेखिको खस्काइ, तापक्रम वृद्धि र तालमा जम्मा भइरहेको पानीबीचको सम्बन्धबारे विस्तृत अध्ययनले आगामी दिनमा यस्ता हिमबाढीको जोखिम पहिचान तथा पूर्वसूचना प्रणाली विकास गर्न महत्वपूर्ण आधार दिन सक्ने देखिन्छ।
Originally published on abcnews.com.np.




प्रतिक्रिया दिनुहोस्