चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली तथा नारायणी नदीको तटमा आइतबारसम्म २ सय ७२ शव फेला परेका छन्। फिस्लिङदेखि गोलाघाटसम्मको नदी किनारमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये हालसम्म १२ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव सम्बन्धित आफन्तलाई बुझाइएको छ।
पहिचान हुन नसकेका बाँकी शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट सुरक्षित राख्ने प्रक्रिया अघि बढाइएको छ। शवलाई देवघाट क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदी तटमा फेला परेका २ सय ७२ शवमध्ये ६२ महिला, १ सय १० पुरुष, सात बालक, छ बालिका रहेका छन्। यस्तै, ८७ शवको पहिचान खुल्न सकेको छैन।
शव व्यवस्थापनका क्रममा शनिबार ९६ र आइतबार १ सय ३ गरी कुल १ सय ९९ शव सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ।
सनाखत भई आफन्तले बुझेका १२ शवमध्ये ११ पुरुष र एक बालिका रहेका छन्।
बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले खोज तथा उद्धार टोलीले नदी तटीय क्षेत्रमा खोजीलाई निरन्तरता दिइरहेको छ।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्