सल्यान, भदौ १५ गते । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी खरिदार पदमा सरकारी सेवामा प्रवेश गरेका सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ।
गत जेठमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेका २१ वर्षीय आयुषको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको केही समयमै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोमा परी उनी बेपत्ता भएका थिए। बाढीमा बेपत्ता भएको चार दिनपछि उनको शव चितवनमा फेला परेको परिवारले जनाएको छ। भदौ १४ गते परिवारले शव पहिचान गरेपछि उनको मृत्यु भएको पुष्टि भएको हो। आयुषको सोमबार चितवनस्थित देवघाटमा अन्तिम संस्कार गरिएको उनका काका रमेश खड्काले जानकारी दिए। आयुष कृष्ण खड्का र मुना खड्काका एक मात्र सुपुत्र थिए। लोकसेवा आयोग उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेपछि परिवारमा खुसी छाएको थियो। तर, सरकारी सेवाको यात्रा सुरु गरेको केही समयमै आएको विपद्ले परिवारको खुसीलाई शोकमा परिणत गरिदिएको छ। आयुषका बुबा कृष्ण खड्काले छोराले लोकसेवा उत्तीर्ण गरेपछि सरकारी सेवामा राम्रो भविष्य बनाउने आशा गरेको बताए।
टिमुरेमा आएको बाढीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेको भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। कार्यालयमा कार्यरत कर्मचारी तथा घरबेटीका परिवारका सदस्यसमेत त्यहाँ बस्दै आएका थिए। बाढी र पहिरोपछि कार्यालयमा कार्यरत तीन जना कर्मचारी सम्पर्कविहीन भएका थिए। आयुषसँगै अछामका जागेश्वर शर्मा र कार्यालय सहयोगी रसुवाका शिवप्रसाद ढकाल पनि सम्पर्कविहीन छन्। शर्मा तीन वर्षदेखि हिमाली दुर्गम क्षेत्रमा कार्यरत थिए भने स्थानीय ढकाल लामो समयदेखि सोही कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। तीनै जना एउटै कार्यालयमा कार्यरत हुनुका साथै एउटै ठाउँमा बस्ने र एउटै भान्सामा खाना खाने सहकर्मी रहेको बताइएको छ। कार्यालयको दैनिकीमा सँगै रहने उनीहरूलाई भोटेकोशीको विनाशकारी बाढी र पहिरोले एकैपटक सम्पर्कविहीन बनाएको थियो। नयाँ जागिर, नयाँ ठाउँ र नयाँ जिम्मेवारी बोकेर टिमुरे पुगेका आयुषको सरकारी सेवाको यात्रा सुरु भएको केही समयमै टुंगिएको छ। गत जेठमा लोकसेवा उत्तीर्ण भएको खबरले खुसी भएको खड्का परिवार अहिले छोराको असामयिक निधनले शोकमा डुबेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्