काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेको आशंका गरिएका कामदारको खोजी गर्दा कुनै पनि व्यक्ति फेला नपरेपछि उद्धार टोली फर्किएको छ। भोटेकोसी नदीमा आएको भीषण बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार टोली खोजीमा परिचालन भएको थियो। सेनाका अनुसार टोलीले सुरुङको अन्तिम भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत प्रयोग गरी खोजी गरेको थियो। तर, सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको जनाएको छ। मानिसहरू नरहेको पुष्टि भएपछि सुरुङमा गरिएको खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ। यसअघि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरी खोजी अघि बढाएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्