काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का बाढीपीडित अहिले काठमाडौंको सानोभर्याङस्थित एल्लो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। उद्धार गरी काठमाडौं ल्याइएका करिब १६० स्थानीयमध्ये केहीले परिवारका सदस्य गुमाएका छन् भने केहीका घर बाढीले बगाएको छ। बाढीबाट जोगिएकाहरूलाई अबको जीवन कसरी अघि बढाउने भन्ने चिन्ता थपिएको छ। गोसाइँकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घले पनि एल्लो गुम्बामै आश्रय लिइरहेका छन्। उनले तत्काल उद्धार तथा राहतको व्यवस्था भए पनि भविष्यलाई लिएर पीडितहरूमा ठूलो चिन्ता रहेको बताए। घलेका अनुसार गोसाइँकुण्ड–२ का वडाध्यक्षसहित एक दलित महिला सदस्य र अन्य एक वडा सदस्य गरी तीन जना अझै सम्पर्कविहीन छन्। गोसाइँकुण्ड–३ का मिङमर छिरिङ तामाङले बाढीपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने चिन्ता बढेको बताए। उनका अनुसार गोसाइँकुण्ड–३ बाट मात्रै १७ जना बेपत्ता भएका छन्। भोटेकोसीमा आएको भीषण बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर २, ५, १ र ३ सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले बस्ती, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। उद्धारपछि सुरक्षित स्थानमा पुगेका पीडितका लागि अब दीर्घकालीन आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा र पुनःस्थापनाको व्यवस्था मुख्य चुनौती बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्