काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु भएको छ। बैठकमा बालश्रम, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार तथा समुद्री जैविक विविधता संरक्षणसँग सम्बन्धित महत्वपूर्ण विषय कार्यसूचीमा राखिएका छन्।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधिसभामा पेस गर्नुहुनेछ।
नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् व्यापार विस्तार गर्ने विषयलाई ऊर्जा क्षेत्रको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइरहेका बेला उक्त सम्झौता संसद्मा पेस हुन लागेको हो।
समुद्री जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता पनि पेस हुँदै
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ।
नेपाल भूपरिवेष्टित मुलुक भए पनि समुद्री जैविक विविधता संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यवस्थामा सहभागी हुने विषयलाई वातावरणीय तथा अन्तर्राष्ट्रिय कानुनी दायित्वसँग जोडेर हेरिएको छ।
बिहीबारको बैठकमा यी विषयसहित संसद्को नियमित कार्यसूचीअनुसार अन्य संसदीय कामकारबाहीसमेत अघि बढ्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्