बागलुङ । नेपाली इसाई समाज बागलुङले भोटेकोशीको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि २५ हजार रुपैयाँ नगद राहत सहयोग गरेको छ। समाजले विभिन्न चर्च तथा मण्डलीका सदस्यहरूबाट व्यक्तिगत रूपमा संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीमार्फत बाढी प्रभावितका लागि पठाएको हो। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका परिवारको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नेपाली इसाई समाज बागलुङका अध्यक्ष तथा नवजीवन मण्डलीका पाष्टर प्रकाश जिसीले बताए। उनका अनुसार समाजको समन्वयमा बागलुङ बजारमा रहेका विभिन्न चर्च तथा मण्डलीहरूले विपद्को कठिन घडीमा पीडितलाई साथ दिने मानवीय भावनाका साथ आफ्ना सदस्यहरूबाट भेटीस्वरूप रकम संकलन गरेका हुन्। राहत हस्तान्तरण गर्दै समाजले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको जनाएको छ। रकम सानो भए पनि पीडित परिवारलाई केही राहत मिलोस् र दुःखको घडीमा आफूहरू एक्लो नभएको अनुभूति होस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष जिसीले बताए। समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् तथा दुःखमा परेका नागरिकलाई सक्दो सहयोग र सहकार्य गर्दै जाने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्