काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले जलवायु परिवर्तनका कारण दक्षिण एसियाली मुलुकहरूमा असमान प्रभाव परिरहेको बताएका छन्।
नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले जलवायु परिवर्तनका कारण जीवन, जीविकोपार्जन तथा पूर्वाधारमा गम्भीर असर परेको बताएका हुन्।
इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमणका क्रममा पाकिस्तानका लागि नेपालका राजदूत रिता धितालसँग भेट गर्दै उपप्रधानमन्त्री दारले पाकिस्तान सरकार र जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षाका लागि प्रार्थना गरेका छन्।
नेपालमा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै दारले उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा पाकिस्तानको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्राकृतिक विपद्को परिणामबाट नेपाललाई बाहिर निकाल्न आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको उनले बताए।
नेपालमा भोटेकोसीलगायत विभिन्न नदीमा आएको बाढी तथा पहिरोले ठूलो जनधन र भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै पुनःस्थापनाका प्रयास भइरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्