काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ११ दिनपछि जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासको टोलीले भेटेको छ।
दूतावासको टोलीले शनिबार छाउनीस्थित सैनिक अस्पताल पुगेर उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिएको हो।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थिए। नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले शनिबार सुरुङबाट उनको जीवितै उद्धार गरेको थियो।
उद्धारपछि उनलाई प्रारम्भिक उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेक लगिएको थियो। त्यसपछि थप उपचारका लागि काठमाडौं ल्याएर छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। चिनियाँ दूतावासको टोलीले उपचारमा संलग्न चिकित्सकसँग समेत उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।
११ दिनसम्म सुरुङभित्र फसेपछि जीवितै उद्धार भएका चिनियाँ नागरिकको अवस्थाले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा आशा थपेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्