काठमाडौं । बाढीपछि प्रभावित बनेको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको अडिट–२ टनेलमा अब एक्स्काभेटर लैजान सकिने भएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा बबक्याट र जेनरेटर प्रयोग गरी टनेलभित्र खोजी कार्य जारी राखेको छ।
उद्धार टोलीले अडिट–२ टनेलबाट एक्स्काभेटर प्रवेश गर्न सक्ने गरी बाटो सफा गरेको नेपाली सेनाले जनाएको छ। बाटो खुलाएसँगै थप ठूला उपकरण टनेलभित्र पुर्याएर खोजी कार्यलाई तीव्रता दिन सकिने अपेक्षा गरिएको छ।
यसैबीच त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
बाढीपछि सुरुङ तथा प्रभावित संरचनामा फसेका व्यक्तिको खोजीका लागि सुरक्षा निकायसहित प्राविधिक टोली परिचालन गरिएको छ।
नेपाली सेनाका अनुसार उद्धार तथा राहत अभियानसँगै हालसम्म ३ हजार २ सय ९७ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत अभियान जारी राखेको सेनाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्